Logo

प्रधानमन्त्री ओलीको चेतावनी : मैले बनाएको केन्द्रीय कमिटी हो, जरुरी पर्दा..



काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने हो भने संसद्मा अविश्वासको प्रस्ताव ल्याएर हटाउन चेतावनी दिएका छन् । आज सोमबार पोखरामा ओली पक्षीय नेकपाको गण्डकी प्रदेश स्तरीय भेलामा सम्वोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । उनले नेकपा देश बनाउने पार्टी भएकोले यसको भविष्य तलमाथि हुन नदिने पनि विश्वास दिलाए ।

उनले आफूहरुले हरेक परिस्थितिको सामना गर्ने पनि स्पष्ट पारे । उनले भने,‘अहिले अपराधी तत्वहरुको सामना गरिरहनुपरेको छ, बोल्ने शैली पनि छैन् । अपमान कसरी गर्न सकिन्छ ? मेरो अपमान कसरी गर्न सकिन्छ ? झुठा लाञ्छना लगाउने काम उनीहरुबाट भएको छ, विधिवत १९ पृष्ठ लामो पृष्ठको विश्वव्यापी प्रचार गरे । म एउटा व्यक्ति हुँ । यो आरोपपत्र मसँग मात्रै सम्बन्धित छैन् । आन्दोलन समाप्त पार्ने कुरा हो । शुद्धिकरण र सुदृढीकरण आजको आवश्यकत्ता हो । देशलाई सुदृढ बनाउँदैछौं । सानातिना मतभेदमा अल्झिनुहुँदैन् । हाम्रा बोलीवचन अनुशरणीय हुनुपर्छ ।’

उनले प्रश्न गरे,‘हाम्रो आचरणमा खोट देखे किन पच्छ्याउने ? हाम्रो व्यवहारमा खोट हुनुहुँदैन् । महान उद्देश्य छ । खोटरहित उद्देश्य छ । अहिले देशी तथा विदेशी शक्तिबाट हमला भैरहेको छ । तर, तपाईँहरुमा कुनै अलमल छैन् ।’ उनले दाहाल–नेपाल समूहले केन्द्रीय कमिटीमा बहुमत छ भनेर भनिरहेको कुरा उल्लेख गर्दै भने,‘त्यो मैले दिएको बहुमत हो । एकताको लागि दिएको हो । तर, उनीहरुले षड्यन्त्रपूर्ण ढंगले, मलाई त बहुमत चाहिएन । बहुमत राख्न सक्थें । मैले त बहुमत सहुमत केही पनि हेरिनँ । हिसाब नगरीकन जति भन्छन् त्यति त्यति दिएर एकता गरेको हो। तर,उहाँहरुले त एकता गरेपछि धन्दा सुरु गर्नुभयो । पार्टी कब्जा गर्ने, आन्दोलन ध्वस्त पार्ने काम यसअघि पनि भएकै हो । यस देशमा कम्फर्टेबल सरकार बनाईदिने । यो देश बनाउने, विकास गर्ने सरकार होईन, कसैका लागि कम्फर्टेबल हुने सरकार बनाउने ?’
उनले नियुक्ती दिनेले बदर गर्न सक्छ भन्दै आफूले हालै संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाईदिएको सुनाए । उनले भने,‘मैले बनाएको थिएँ, अस्ति हटाएँ । अहिले अर्को मुख्य सचेतक मैले बनाए । मैले गर्ने हो । मैले बनाएको केन्द्रीय कमिटी हो । जरुरी पर्दा, भंग गर्न सक्छु ।’

केन्द्रीय सदस्यहरुलाई आफूले कारबाही गर्न सक्ने कुरा पनि उनले सुनाए । तर, अहिलेसम्म उनीहरुको पद आफूले नचलाईदिएको उनको भनाई छ । उनले भने,‘लाजले भाग्नु, उठ्न नसकनु एउटा कुरा हो । तर, उहाँहरुको पद केही पनि चलाईदिएको छैन् । उनीहरुले बाटोमा, ब्यांकेटमा, माईतीघरमा अध्यक्ष बनाए । आँफै अध्यक्ष बन्छन् । आँफै दलको नेता बन्छन्, आँफै लड्डु खान्छन् । लड्डु खायो । माला लायो । पुष्पगुच्छा साटासाटा गर्यो, विधि, प्रक्रिया र पद्धती सुन्नुभयो होईन ? देख्ने बेला छर्लङ देख्नुभयो । अध्यक्ष छान्ने प्रक्रिया। बैठक बोलाएको ठाउँमा किन नआएको ? बहुमत कहाँ पुष्टि भयो ? पुष्टि भएको छैन् । कार्की ब्यांकवेटमा भोज खान बोलाएर केन्द्रीय कमिटीमा बहुमत हुन्छ । अध्यक्ष र महासचिवले बोलाएको बैठकमा आउनुहोस् । फेर्नै मन भए विधिवत रुपमा फेर्नुहोस् । दलको नेता फेर्नुहोस न ।’

उनले अहिले दाहाल–नेपालले प्रधानमन्त्रीको खोजी कार्य गरिरहेको पनि टिप्पणी गरे । उनले भने,‘अब प्रधानमन्त्रीको खोजी कत्रो भैरहेको छ ? खोजीको लागि दौडादौड छ । कोही गीत गाउँछन् दिए खान्थें मायाको दाहिने हातैले । विधि, पद्धती छ । प्रक्रिया छ । संविधान छ । नियामावाली छ । त्यसअन्तर्गत आउनुहोस न । अपराध गर्न सफल हुनुभयो भनेपनि हामी प्रतिपक्षमा बसौंला । दुई तिहाईको बहुमत सहित फेरि जान्छौं । हामीलाई छलछाम गर्नुछैन् । हाम्रो उद्देश्य देश बनाउने हो । यो देश बनाउने हाम्रो सपना हो । यसका लागि प्रयास गर्ने हो । दुई तिहाईका साथ फर्किन्छौं ।’

आफूलाई प्रधानमन्त्रीबाट गलहत्याएर हटाउने भनेर धम्की दिईएको भन्दै उनले हटाउने नै हो भने विधि र प्रक्रियाबाट आउन चेतावनी दिए । उनले भने,‘देख्नुभयो होईन, उहाँहरुको प्रजातन्त्र कस्तो रहेछ ? अविश्वासको प्रस्ताव राखेर हटाउनुहोस न । गलहत्याएर हटाउँछु भन्ने कुन लोकतान्त्रिक अभ्यास हो ?’

 



प्रतिक्रिया दिनुहोस्