Logo

अन्तःशुल्क स्टीकर छपाइः सर्वोच्चबाट फैसला नआउँदा प्रक्रिया नै रोकियो



काठमाडौं, फागुन १८ । अन्तःशुल्क स्टीकर छपाइको जिम्मा विदेशी कम्पनीलाई दिने गरी आन्तरिक राजस्व विभागले बोलपत्र आह्वान गरेको महीनौं बिते पनि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा किनारा लाग्न नसक्दा प्रक्रिया नै रोकिएको छ ।

बोलपत्र आह्वानपछि छपाइको जिम्मा लिन फ्रान्स, इटलीलगायत मुलुकका कम्पनीहरू सरिक भए पनि अहिले ती कम्पनीको मूल्यांकन हुन सकेको छैन ।

आन्तरिक राजस्व विभाग अन्तःशुल्क तथा अनुसन्धान महाशाखा प्रमुख एवं उपमहानिर्देशक शिवादेवी दाहालका अनुसार सरकारले चाहेअनुसार स्टीकर छपाइ हुन नसक्दा माग धान्न धौधौ परिरहेको छ ।

‘टेन्डर आह्वानपछि इच्छुक कम्पनीहरू आएका छन् तर सर्वोच्चमा परेको मुद्दा नटुंगिएका कारण प्रक्रिया नै रोक्नुपरेको छ,’ दाहालले भनिन् ।

उनका अनुसार तत्कालीन माग धान्नका लागि जनक शिक्षा सामग्री केन्द्रबाट १२ प्रकारका स्टीकर छपाइ भइरहेको छ । विभागले ४३ प्रकारका स्टीकर विदेशी कम्पनीबाट छाप्दै आएको थियो । ‘ठूलो परिमाणमा स्टीकर छाप्ने गरिएकोमा सीमित छाप्नुपर्दा मौज्दात थेग्नै कठिन भइरहेको छ,’ उनले भनिन् ।

जनक शिक्षा सामग्री केन्द्रका एक उच्च अधिकारीका अनुसार चालू वर्षभित्र ७० करोड थान स्टीकर छपाइको जिम्मा पाएकाले सोहीबमोजिम छपाइलाई निरन्तरता दिइएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्