Logo

दिप्रुङ चुइचुम्माका विद्यालयमा दिवा खाजा कार्यक्रम



ओटाङ, १८ फागुन । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले दिवा खाजा कार्यक्रम शुरु गरेको छ । सात वडा रहेको उक्त गाउँपालिकाभित्र पर्ने सबै (४८ वटा विद्यालय) का बालविकास केन्द्रदेखि कक्षा ५ सम्म अध्ययनरत तीन हजार ५४ विद्यार्थीलाई खाजा उपलब्ध गराउने गरी सो कार्यक्रम शुरु गरिएको हो ।

खाजा अभावकै कारण विद्यालय छाड्न बाध्य विद्यार्थीलाई लक्ष्य गरेर शिक्षा तथा प्रविधि मन्त्रालयबाट प्राप्त भएको सःशर्त अनुदानबाट विद्यालयमा सो कार्यक्रम कार्यान्वयनमा ल्याइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। “दिवा खाजाको व्यवस्थापनका लागि शिक्षा तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष गाउँपालिकालाई रु ८४ लाख २४ हजार बजेट उपलब्ध गराएको छ”, उनले भने, “प्राप्त बजेटबाट वर्षमा १८० दिन खाजा खर्चबापत दैनिक जनही रु १५ का दरले विद्यार्थीलाई रकम उपलब्ध गराउने गरी कार्यक्रम शुरु गरिएको हो ।”

चार वर्षदेखि ९ वर्ष उमेर समूहका विद्यार्थीलाई विश्व खाद्य सङ्गठनले निर्धारण गरेको मापदण्डका आधारमा दैनिक आवश्यक क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, आइरनजस्ता पोषकतत्वको मात्रा उपलब्ध गराउने गरी खाजाको व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । दिवा खाजामा बिस्कुट, चाउचाउजस्ता जङ्कफुडजन्य खाद्य पदार्थ भने प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ ।

सुक्ष्म पोषकतत्वतर्फ दैनिक १२० आयोडिन आवश्यक पर्नेमा दिवा खाजाबाट ३६ आपूर्ति गराउने, दैनिक १७.८ आइरन आवश्यक पर्नेमा दिवा खाजाबाट ५.४ आपूर्ति गराउने, दैनिक ११.२ जिङ्क आवश्यकपर्नेमा दिवा खाजाबाट ३.४ आपूर्ति गराउने, दैनिक ३३ भिटामिन ‘ए’ आवश्यक पर्नेमा दिवा खाजाबाट ११ र दैनिक १२ भिटामिन ‘बी’ आवश्यक पर्नेमा दिवा खाजाबाट ४।१ पोषकतत्वको मात्रा पूरा हुने किसिमका खाजा उपलब्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिव्यक्ति दैनिक रु १५ का दरले नगद पाउने विद्यार्थीले बिदाको दिनको भने दिवा खाजाबापतको रकम पाउने छैनन् । यसअघि रावाबेँसी गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र पर्ने सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको थियो । दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि दिवा खाजा कार्यक्रमलाई लागू गर्ने तयारी गरिरहेका छन् । जिल्लाका कतिपय स्थानीय तहले भने टिफिन क्यारी (खाजा बोक्ने भाँडा) मात्र उपलब्ध गराएका छन् । स्थानीय तहले उपलब्ध गराएको खाजा तथा खाजा बोक्ने भाँडासमेत निःशुल्क पाएपछि विद्यार्थी हर्षित छन् । रासस



प्रतिक्रिया दिनुहोस्