Logo

असिनापानीको कारण सुन्तला उत्पादनमा कमी



भरतपुर, १८ फागुन । चितवनमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । असिनापानी र रोगका कारण सुन्तला उत्पादनमा कमी आएको हो । यस वर्षप्रति हेक्टर ९ दशमलब १३ टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ । यो गत वर्षको भन्दा कम हो । गत वर्ष प्रतिहेक्टर ९ दशमलब ५८ टन सुन्तला उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र चितवनकी सूचना अधिकारी सुरुची त्रिपाठीले सुन्तलामा रोग लागेका कारण यस वर्ष उत्पादनमा केही कमी देखिएको बताउनुभयो । चितवनमा १९९ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष उत्पादन भएको क्षेत्रफल भने ११० हेक्टर रहेको त्रिपाठीले जानकारी दिए । ११० हेक्टर क्षेत्रफलमा यस वर्ष प्रतिहेक्टर ९।१३ टन अर्थात् एक हजार चार दशमलव तीन टन सुन्तला उत्पादन भएको छ ।

गत वर्ष पनि ११० क्षेत्रफलमै सुन्तला उत्पादन भएको थियो । सो क्षेत्रफलमा गत वर्ष प्रतिहेक्टर ९।५८ टन अर्थात् एक हजार ५४ दशमलव नौ टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष कविलासमा गरिएको सुन्तला खेतीलाई असिनापानीले नोक्सान पु¥याउनाका साथै विभिन्न रोग लागेका कारण उत्पादनमा कमी आएको त्रिपाठीले बताए ।

त्रिपाठीका अनुसार यस वर्ष किसानले सुन्तालाको बजार मूल्य राम्रो पाएका छन् । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र भरतपुरमहानगरपालिका २९ मा सुन्तला खेती गरिन्छ । इच्छाकामना–३ र ५ मा अत्यधिक सुन्तला उत्पादन हुन्छ । इच्छाकामनाका तामिन, दारेचोक, दाहाखानी, काउले, चण्डिभन्ज्याङ र भरतपुर–२९ कविलासमा धेरै सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनले इच्छाकामनाका विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्