Logo

घरघरमा पानी पुर्याउने करोडमाथिका आयोजना



इलाम,१८ फागुन । स्थानीय तहमा प्रतिनिधि आएपछि विकासका फड्को मारेको देखिन्छ । स्थानीय तह यतिबेला कतै सडक खन्नमा तल्लीन छन् भने कतै आफ्नै भवन निर्माणमा व्यस्त छन् ।

यहाँका स्थानीय तहले भने विकास निर्माणका अन्य कार्यसँगै खानेपानी योजना निर्माणमा तल्लीन छन् । कतै खानेपानीका लागि योजना बन्दैछन् भने कतै पाइप बिच्छ्याउन व्यस्त छन् । यहाँको सूर्योदय नगरपालिकाले रु ६६ करोडको खानेपानी योजना सञ्चालन गर्ने भएको छ । सूर्योदयको कन्याम, लक्ष्मीपुरलगायत १४ वटै वडामा खानेपानी समस्याको दिगो समाधानका लागि विभिन्न आयोजना निर्माण गर्न बोलपत्र आह्वान गरिइएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभाग मातहतको इलाम कार्यालयबाट सञ्चालन हुने कन्याम पञ्चकन्या खानेपानी योजनाबाट सूर्योदयको मात्र नभइ इलाम नगरपालिका र रोङ गाउँपालिकासमेत लाभान्वित हुनेछन् । योजनाको प्रक्रिया अघि बढेपछि भविष्यमा नगरमा खानेपानीमा आउने सक्ने समस्या समाधानको निम्ति ऐतिहासिक कार्य भएको नगर प्रमुख रणबहादुर राईले बताए ।

तीन वर्षमा योजना सम्पन्न हुनेछ । आयोजनको लागि सरकारको ९० प्रतिशत र १० प्रतिशत जनसहभागिता रहनेछ । जनसहभागिताको १० प्रतिशतभित्र बुझाउनुपर्ने अग्रिम एक प्रतिशत शुल्क अर्थात रु ६६ लाख जम्मा गरिसकेको राईले बताए । बाँकी ९ प्रतिशत संरचना निर्माणका लागि जग्गा व्यवस्थापन, धारा जडान, पाइपलाइन विस्तारका लागि जनश्रमदान रहने छ । यस्तै, इलाम सदरमुकामस्थित इलाम नगरपालिकामा पनि खानेपानी योजना निर्माणाधीन छ । ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ आउँदो चैतसम्ममा सक्ने योजनाका साथ निर्माण गरिँदै छ । इलाम नगरवासीको स्वच्छ खानेपानीमा सहज पहुँचमा पु¥याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो ।

हालसम्म योजनाको ७० प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ । पाइप लाइन विस्तार गर्ने काम सकिएको छ भने ट्याङ्की बनाउने काम भइरहेको छ । निर्धारित समयमै योजना सम्पन्न गर्नका लागि योजनाबद्ध रूपमा ‘युद्धस्तर’मा काम भइरहेको आयोजना समितिका अध्यक्ष केदार थापाले जानकारी दिए । ४२ किमी टाढा सन्दकपुर गाउँपालिकाबाट पानी ल्याउन लागिएको हो । हालसम्म पाइप विच्छाउने काम भने ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । निर्माणका लागि इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजनाको रमण कन्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाख ७ हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषबाट रु १४ करोड ४८ लाख ७६ हजार ७५० ऋण लिएको छ ।

बीस वर्षमा साँवा र ब्याज भुक्तानी गर्नेगरी ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण लिएको हो । त्यस्तै, उपभोक्ताबाट लागत सहभागिताको ५ प्रतिशत अर्थात् रु दुई करोड ८९ लाख ७५ हजार ३५० मार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । आर्थिक वर्ष २०७७/७८ सम्ममा सम्पन्न गरिसक्नुपर्ने आयोजनाका लागि एशियाली विकास बैंक ९एडिबी० ले ७० प्रतिशत अनुदान उपलब्ध गराउने जनाएको थियो । गत ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता गरिएको थियो ।

सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्हार गर्ने जनाएको छ । एडिबीको आर्थिक सहयोगमा इलाममा अहिलेसम्मकै ठूलो खानेपानी आयोजना सञ्चालन हुन लागेको हो । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याउने तयारी छ । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेण्ड ४१ लिटर पानी आउनेछ । साना शहरी आयोजनाले हेरेको र अहिले पानी आपूर्ति भइरहेको खानेपानी आयोजनाको मुहान एउटै हो । साना शहरीले सदरमुकामबाट करीब ३२ किलोमिटर सन्दकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति डिजाइन तयार भएको छ । रासस



प्रतिक्रिया दिनुहोस्