Logo

प्रशिक्षण प्रदायक संस्थाहरुको सवलीकरण र सुदृढिकरण गर्न प्रहरी संगठन क्रियाशीलः प्रहरी महानिरीक्षक क्षेत्री



कास्की, १८ फागुन । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाका विद्यमान समस्या र चुनौतीहरुको पहिचान गर्दै आगामी दिनमा यस्ता संस्थाको सवलीकरण र सुदृढिकरण गर्नेतर्फ प्रहरी संगठन क्रियाशील रहेको बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा आइतबारदेखि संचालित बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भम्रण कार्यक्रम २०७७ समापनका अवसरमा टीका रिसोर्ट बैदाम पोखरामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षण प्रदायक संस्था नेपाल प्रहरी संगठनकै मेरुदण्डको रुपमा रहेको बताउँदै आम नागरिकलाई प्रहरीमा रुपान्तरण गर्ने जस्तो महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएका प्रशिक्षक वर्गहरुले आफूलाई अझै अनुशासित, स्वाभिमानी र जिम्मेवार बनाई कार्य(सम्पादन गर्नुपर्ने बताउनुभयो । यस्ता कार्यशालाहरुले कुनैपनि संस्थाको वास्तविक समस्या पहिचान र त्यसको समाधानमा उल्लेखनीय भूमिका निर्वाह गर्ने उनले उल्लेख गरे ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गरेका थिए।
नेपाल प्रहरी र प्रदेश प्रहरी अन्तर्गत रहेका प्रशिक्षण प्रदायक संस्थाको बाह्‍य प्रशिक्षण कार्यमा एकरुपता एवं सुधार गरी प्रशिक्षणलाई बैज्ञानिक र प्रभावकारी बनाउनुका साथै प्रशिक्षकहरुलाई विभिन्न रमणीय स्थानहरुको अवलोकन गराई थप उत्प्रेरणा जागृत गराउने उद्देश्यका साथ उक्त प्रतिष्ठानले कार्यशालाको आयोजना गरेको हो ।
उक्त बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रममा नेपाल प्रहरी तथा प्रदेश प्रहरीका मुख्य प्रशिक्षण प्रदायक संस्थाहरुका बाह्‍य प्रशिक्षण तर्फका प्रहरी अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।

समापन कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्