Logo

बिरामीका लक्षण नदेखिनु स्वस्थ हुनु होइन



‘मधुमेह शरीरमा लागिसकेपछि पनि कति समयसम्म थाहा नपाई हामी रहिरहन सक्छौँ ?’ ‘क्वोरा डाइजेस्ट’ मा करोलाइन मेरिटले जीवनोपयोगी लेखेकी छन्, ‘मेरो एउटा निजी अनुभव छ-  मेरा ५५ वर्षका पिता स्वास्थ्यमा कुनै समस्या नदेखिएको हुनाले डाक्टरलाई किन पैसा तिर्ने भनेर नियमित चेक गराउनु हुन्थेन । ५६ वर्ष पुगेपछि हिउँदमा बाहिर हिंड्दा उहाँ हिउँमा चिप्लेर लड्नुभयो र जोर्नी फ्र्याक्चर भएछ । उहाँलाई एम्बुलेन्समा राखेर तुरुन्त अस्पतालको इमर्जेन्सीमा लग्यौं । एउटा रुटिन ब्लड टेस्ट गरियो (इमर्जेन्सीमा सबैको गरिन्छ) अनि थाहा पाइयो उहाँको ब्लड सुगर ५०० भन्दा बढी पुगेको रहेछ । (नर्मल भनेको ७० देखि ११० सम्मको हुन्छ) । उहाँलाई तुरुन्त इन्सुलिन दिइयो तर दु:खका साथ भन्नु पर्दा- अनियन्त्रित मधुमेहले गर्नु नगर्नु गरिसकेको रहेछ । ६२ वर्ष पुगेपछि उहाँलाई हर्ट अट्याक भयो र ट्रिपल बाइपास गर्नु आवश्यक भयो । बाइपास भनेको एउटा ठूलो रक्तनली खुट्टाबाट निकालेर मुटुको कम्जोर क्षतिग्रस्त रक्तनलीमा राख्ने काम हो ।

अपरेसन गरिसकेपछि डाक्टर साहेबले भन्नुभयो कि वर्षौंको अनियन्त्रित मधुमेहले पिताको खुट्टाको रक्तनली यस्तरी बिगारेको रहेछ कि त्यसमा कामलाग्ने रक्तनली पाउनै गाह्रो भएछ । पितामा मधुमेह धेरै वर्षदेखि रहिआएको हुनुपर्छ भनेर डाक्टर साहेबले अनुमान लगाउनुभयो । डाक्टर साहेबको आफ्नै भाषामा भन्ने हो भने मेरा पिताको खुट्टाका रक्तनलीहरू काम नलाग्ने म्याकारोनीजस्तै तान्द्राङतुन्द्रुङ छोयो कि खसिहाल्ने खालको थियो ।

मेरा पिता ती झाराझुरे क्षतिग्रस्त रक्तनलीको कारण अप्रेसन गरेको एक वर्षभित्रै बित्नुभयो । मेरा पितासँग मधुमेहको कुनै लक्षण कहिल्यै देखिएन तर यदि उहाँले बेला बेला डाक्टरलाई जँचाउँदै आएको भए त्यो पहिल्यै थाहा पाइन्थ्यो र अझ धेरै वर्ष बाँच्न सक्नु हुने थियो । कुनै लक्षण नदेखिँदैमा मानिस स्वस्थ हुँदैन । नियमित चेकजाँचले जीवन बच्न सक्छ ।’

 

 



प्रतिक्रिया दिनुहोस्