Logo

देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न को को लागे



काठमाडौं, १८ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका सामु प्रधानमन्त्री बन्ने मौका आएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको र दुवैलाई नेपाली काँग्रेसको साथ चाहिएकाले देउवालाई प्रधानमन्त्री बन्ने मौका आएको हो ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा अदालतमा विचाराधीन हुँदा अप्ठ्यारोमा परेका नेपाल कम्युनिस्ट पार्टीको दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठस्थित देउवा निवास पुगेका थिए । त्यहाँ उनीहरुले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा स्पष्ट उभिन आग्रह गर्दै प्रधानमन्त्री बन्न भविष्यमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । तर, त्यतिबेला देउवा संसद विघटनको पक्षमा उभिएर चुनावमा जोड दिन पुगे ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला गरेको भोलिपल्टै प्रचण्ड र माधव नेपाल देउवा निवास पुगेर सत्ता समिकरणको प्रस्ताव गरे । तर, देउवाले पहिले नेकपाको विवाद कानुनी रुपमा टुंगो लाग्न दिनुपर्ने जवाफ दिएका थिए ।

प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव गरी दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि नबढाइने निश्चित भएको छ । यसको अर्थ प्रचण्ड प्रधानमन्त्रीबाट ब्याक हुँदैछन् । यसबाट देउवा अझै उत्साही छन् । तर, दुवै हातमा लड्डु भनिएका देउवालाई सजिलै प्रधानमन्त्री पद प्राप्त हुने देखिदैन ।

अब प्रधानमन्त्री नियुक्त भएमा आवधिक चुनावसम्म देउवा प्रधानमन्त्री हुन पाउनेछन् । संविधान अनुसार प्रधानमन्त्री नियुक्त भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन । आवधिक चुनाव भएको ३ वर्ष तीन महिना पूरा भइसकेको छ । यसको अर्थ अबको २१ महिनापछि चुनाव गर्नुपर्छ । नयाँ प्रधानमन्त्री नियुक्त हुने व्यक्ति अबको दुई वर्ष या अर्को चुनाव नभएसम्म प्रधानमन्त्री रहिरहन्छ । त्यसैले देउवाका लागि प्रधानमन्त्रीका अन्य प्रतिष्पर्धीले सजिलै छाड्ने सम्भावना कमजोर छ ।

देउवालाई सबैभन्दा ठुलो चुनौती काँग्रेसभित्रैबाट छ । काँग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षधर नेताहरु प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिँदा देउवा विपक्षमा देखिएका थिए । उनले चुनावमा जोड दिदै आएका थिए । देउवाको यो भूमिकाप्रति पार्टीभित्र र बाहिरबाट समेत प्रश्न उठेको थियो । जुन प्रतिनिधि सभाको अन्त होस् भन्ने उद्देश्यका साथ देउवा लागे यही कार्यकालको प्रतिनिधि सभाबाट उनी प्रधानमन्त्री हुन नहुने भन्दै देउवाइतर नेताहरु लागिसकेका छन् । यसकारण उनलाई संसदीय दलभित्रै चुनौती बन्न सक्छ ।

बाहिर जे भनेपनि प्रचण्ड र माधव नेपाल देउवालाई सत्ता सुम्पन तयार देखिएका छैनन् । प्रचण्ड र नेपाल देउवालाई किस्तीमा प्रधानमन्त्रीको पद लिएर प्रतिनिधि सभाको पुनःस्थापनाको पक्ष लिइदिन भन्न जाँदा अदालतको फैसला पर्खन भन्ने जवाफ पाएका थिए । यसकारण पनि देउवाप्रति उनीहरु आश्वस्त छैनन् ।

अन्तर्राष्ट्रिय समुदायमध्ये उत्तर र दक्षिण देउवाप्रति विश्वस्त नभएको बुझिएको छ । देउवाप्रति दक्षिणको समेत विश्वास कम रहेको कारण उनलाई साथ मिल्ने सम्भावना कमजोर हुँदै गएको छ । हुन त भारतीय राजदूत विनयमोहन क्वात्राले देउवालाई प्रतिनिधि सभा पुनःस्थापनापछि भेटिसकेका छन् । तर, देउवाको भूमिकाप्रति आशंकाहरु गर्न थालिएको छ । उनले प्रधानमन्त्री ओलीलाई भित्री रुपमा साथ दिइरहेको विषय उठिरहेको छ । विशेषगरी संवैधानिक निकायमा देउवा निकटस्थहरु नियुक्त भएकाले ओलीसँग उनको अझै भित्री समिकरण चलिरहन सक्छ ।-फाइल तस्बिरः रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्