Logo

विद्युतीय गाडीको आयात आधा घट्यो



काठमाडौं, फागुन १९। सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारी विस्थापित गरी विद्युतीय सवारीको आयात प्रवर्द्धन गर्ने नीति लिए पनि आयातको अवस्था भने ठीक उल्टो देखिएको छ । चालू आर्थिक वर्षको पहिलो ७ महीनाको अवधिमा नेपालमा विद्युतीय सवारीसाधनको आयात आधाले घटेको छ भने डिजेल÷पेट्रोलबाट चल्ने सवारीसाधनको आयात ६० प्रतिशतले बढेको छ ।

यस अवधिमा कुल २ हजार ५१ विद्युतीय सवारीको आयात भएको छ । यसमा १०३ वटा मात्र विद्युतीय जीप, कार भ्यान आयात भएको छ । अरू तीनपांग्रे अटोरिक्सालगायत सवारी रहेका छन् ।

अघिल्लो वर्ष कुल ४ हजार २०४ विद्युतीय सवारीसाधन आयात भएको थियो । यसमा जीप, कार र भ्यानको तथ्यांक एकै ठाउँमा राखिएका कारण यसको छुट्टै तथ्यांक छैन । अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल नाडा अटोमोबाइल एशोसिएशनका अनुसार अघिल्लो वर्षको पहिलो ६ महीनाको अवधिमै ६ सयभन्दा बढी जीप, कार र भ्यान आयात भएको थियो । सातौं महीनाको तथ्यांक भने नाडासँग पनि ई–रिक्सासहितको मिश्रित नै भेटिएको छ ।

विद्युतीय सवारीको आयात घटे पनि यस वर्ष डिजेलरपेट्रोलबाट चल्ने सवारीको आयात भने बढेको छ । यस अवधिमा बसबाहेक जीप, कार भ्यान, मोटरसाइकल र ट्रकलगायत सवारीसाधनको आयात बढेको छ ।

नाडाका महासचिव सुनील रिजालका अनुसार सरकारले विद्युतीय सवारीमा गरेको कर वृद्धिका कारण यस्तो सवारीको आयात घटेको हो । सरकारले गत जेठमा बजेटमार्फत विद्युतीय सवारीको भन्सार १० प्रतिशतबाट वृद्धि गरेर ८० प्रतिशत पुर्‍याएको थियो । यद्यपि, पछि अन्तःशुल्क तथा कर छूट दिने निर्णय भएको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्