Logo

कोलम्बसको मृत्युपछिको यात्रा



हामी सबै जिउँदो छँदा यात्रा गर्छौं । आजीवन संसार खोज्न हिँडेका क्रिस्टोफर कोलम्बसले त्यसै पनि आम मान्छेभन्दा जिउँदो छँदा धेरै यात्रा गरे । जीवनको अत्यधिक समय यात्रामै बित्यो । मान्छेलाई संसार चिनाए ।

अचम्म त के भने उनको यात्रा मृत्युपश्चात् पनि जारी रह्यो । उनको शवको अवशेष यात्रा । उनको अवशेषलाई एउटा सहरबाट अर्को सहर सार्ने क्रम जारी रह्यो । यसो हुनुको प्रमुख कारण थियो, कोलम्बसको अन्तिम इच्छा । नयाँ दुनियाँको खोजीमै जीवन बिताएका उनले चाहेका थिए, आफूलाई नयाँ संसारमा गाडियोस् ।

नयाँ दुनियाँको खोजमा लामो यात्राबाट थाकेर, अनेक रोग बोकेका, उमेरले ओरालो लागेका कोलम्बस सन् १५०४ मा स्पेन पुगेका थिए । त्यसको दुई वर्षपछि सन् १५०६ मा दभल्लाडालिडमा मृत्यु भएपछि उनको दाहसंस्कार त्यही सहरमा गरियो । तर, उनको  इच्छा अनुसार सन् १५०९ मा उनको शवको अवशेषलाई स्पेनको सेभेल्ली नदी नजिक ला कार्तुजा टापुमा सारियो । त्यसपछि उनको अवशेषलाई वेस्ट इन्डिजको हिसपानियोला पठाइयो । तर स्पेनको सेभिल्ली र डोमेनिकन रिपब्लिकको सान्तो डोमिन्गो दुवै सहरले कोलम्बसको अवशेष आफ्नो सहरमा भएको दाबी गरेपछि तथ्यले अर्कै मोड लियो ।

कोलम्बसको जीवन पनि विवादास्पद छ । कोही उनलाई युरोपबाट पश्चिम हुँदै मानव बसोबासमा निस्किएका पहिलो पटक अमेरिका पत्ता लगाउने महान् खोजकर्ता एवं साहसी व्यक्ति मान्छन् भने कोही उनलाई क्रुर, मुर्ख र निकम्मा ठान्छन् । कोही उनलाई संसारमा रोग र दासता, अन्याय र असमानता भित्र्याउने मान्छे भन्छन् । असल-खराब जे भए पनि कोलम्बसले विश्व मानचित्रको नयाँ रुपरेखा कोरेर चिनाएकोमा दुई मत छैन ।

सन् १५३७ मा दफन गरिएको ठाउँबाट उनका कंकाल निकालेर स्पेनबाट डोमनिकन रिपब्लिकाको सान्तो डोङ्गो पुर्याइयो । समयसँगै स्पेनी साम्राज्यका लागि सान्तो डोमिङ्गोको महत्त्व घटेर गयो । स्पेन साम्राज्य आफैं पनि खुम्चिँदै गयो । सन् १७९५ मा सान्तो डोमिङ्गो, फ्रान्स र स्पेनबीच शान्ति सम्झौता हुँदा फ्रान्सको भूभाग बन्यो । त्यसपछि अवशेषलाई क्युवाको हवाना पठाइयो । सन् १८९८ मा स्पेन र अमेरिकाबीच युद्ध भयो । अनि, अवशेष फेरि स्पेन पुग्यो ।

सन् १८७७ को कुरा हो, सान्तो डोमिङ्गो चिहानघाटमा एउटा काठको बक्सा आइपुग्यो । जसमा, क्रिस्टोफर कोलम्बस भनेर लेखिएको थियो । बक्साभित्र मानिसको अवशेष थियो । सबैले यही सोचे, यो महान अन्वेषक क्रिस्टोफर कोलम्बसकै हुनुपर्छ । तत्पश्चात डोमनिकनहरु अवशेष आफ्नो देशमा भएको दाबी गर्छन् ।

स्पेनीसित भएको अवशेष अर्कै मान्छेको कंकाल भएको उनीहरु बताउँछन् । त्यही बेला क्युबा हुँदै कंकाल स्पेन पुगेको थियो । तर, साँच्चै क्रिस्टोफर कोलम्बस मृत्युपश्चात् कहाँ छन् ? विवाद छ । डोमनिकन पुगेको शवको अवशेषमा बाथ रोग लागेको संकेतहरु फेला परेको थियो । कोलम्बसलाई बुढेसकालमा त्यही रोगले दुःख दिएको तथ्यहरु थिए ।

माथि नै भनिसकियो, कोलम्बसको अन्तिम इच्छा आफ्नो शव नयाँ फेला परेको संसारमा दफनाउने थियो । डोमनिकन यही तर्कमा बल दिन्छन् । यसरी क्रिस्टोफरको हड्डीका टुक्राहरु नयाँ दुनियाँ घुम्ने क्रम जारी रह्यो । डोमनिकनले अन्य देशलाई पनि उपहार स्वरुप हड्डीका टुक्रा बाँडे ।

क्रिस्टोफरको अवशेष सम्बन्धमा स्पेनी दाबी भने दमदार छ । उनीहरुले आफ्नो दाबीमा वैज्ञानिक प्रमाणहरु पेस गरेका छन् । सेभेल्लेमा रहेको शवको डीएनए परीक्षण प्रतिवेदन पेस गरेका छन् । त्यसैगरी सोही ठाउँमा गाडिएको कोलम्बस पुत्र डियगोको डीएनएसँगै कोलम्बसको डीएनए मिलेको प्रतिवेदनमा उल्लेख छ । सो परीक्षणमा संलग्न विज्ञहरुले स्पेनमा भएको अवशेष नै कोलम्बसको भएको अन्तिम निष्कर्ष दिएका छन् ।

डोमनिकनहरुले भने डीएनए परीक्षणका लागि विज्ञ अधिकारीहरुलाई अनुमति दिएका छैनन् । स्पेनीहरुको अर्को महत्त्वपूर्ण दाबी, अवशेषलाई ठाउँसारी गरिएको तथ्य नै फितलो भएको भन्ने छ ।

पाँच सय वर्षअघि मरेका कोलम्बसको अवशेष स्वामित्वको झगडा जारी छ । त्यसको प्रमुख कारण कोलम्बस पर्यटन हो । त्यसैले पनि डोमनिकनहरुले डीएनए परिक्षणको अनुमति नदिएका हुन् । कोलम्बस अवशेष स्मारक अगाडि उभिएर फोटो खिच्न संसारभरबाट पर्यटक डोमनिकन रिपब्लिक पुग्छन् । डोमनिकनको अर्थतन्त्रको एउटा प्रमुख आधार पर्यटन पनि हो ।

जहाँ, जहाँ कोलम्बसको अवशेष पुर्याइएको छ, उनीहरु सबैको विश्वास छ- सक्कली अवशेष हामीसँग छ । स्पेनसित सबैभन्दा दरिलो प्रमाण छ । डोमनिकनले अझ सुरक्षाको घेराभित्र राखेको छ । डोमनिकनहरु स्पेनी डीएनए परीक्षण प्रतिवेदन मान्न तयार छैनन्, आफ्नो डीएनए परीक्षण गर्न पनि दिँदैनन् । सन १७९५ सम्म हड्डीका रुपमा अवशेषहरु केही क्युबा, केही सान्तो डोमिङ्गो गुपचुप पुर्याइयो । दुनियालाई नयाँ संसार चिनाउने क्रिस्टोफर कोलम्बसको मृत्युपश्चात्को चिनारी भने कुन सहरसँग छ ? विवाद छँदै छ । एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्