Logo

उत्तम जीवनका सूत्रहरु



सागरको तलमा जसरी मोती लुकेर बसेका हुन्छन्, ताओ ते चिङका समस्त अध्यायमा त्यसरी नै उत्तम जीवनका सूत्रहरु भेटिन्छन् । ताओ ते चिङ एक जीवनमुक्त सन्तको अमृतरस हो । यो साधना पथको प्रतीक हो । एउटा साधकले यसलाई सहजतासाथ र रसपूर्ण तवरले हृदयंगम गर्न सक्छ । उसले यसको भरपूर रसास्वादन गर्न सक्छ । जसले यसलाई केवल बुद्धि एवम् विद्वताका बलले बुझ्न खोज्छ, त्यसले यसको अर्थलाई अनर्थ गर्न सक्छ । कैँयन् मान्छेहरुद्वारा जानान्जान त्यस्ता दुर्घटना हुन पुगेका छन् ।

लाओत्सुका दृष्टिमा यस्तो जीवन जो राग-द्वेष, कलह, शक्ति-भोगका इच्छाभन्दा टाढा होस् । बालकझैं निर्दोष होस् । स्त्रीसुलभ विनम्रता एवम् मौनताले संयुक्त होस् । जलसदृश परोपकार गर्नेवाला होस् । नयाँ बिरुवा जस्तै कोमल, लचिलो एवम् निर्बल होस् । अहंकारशून्य होस् । यस्तो जीवन नै उच्च जीवन हो ।

जीवनमा सद्गुणहरु ओतप्रोत होऊन् । तर तिनमा कदाचित् अहंकार नहोस् । जीवन संयम र शीलले सुसज्जित होस् । समग्रमा यस्तो जीवन नै ताओको निकट हुने गर्छ । ताओ विश्व सत्ताको नियमानुसार चल्ने निर्दोष जीवनलाई नै लाओत्सुले गुप्तजीवन अर्थात् ‘हिडन लाइफ’ को संज्ञा दिएका छन् ।

लाओत्सुले आफ्नो ग्रन्थका अनेक स्थानमा चीनका पुराना सन्तका वाणी र व्यवहारलाई उच्च जीवनको प्रमाणका रुपमा उदृत गरेका छन् । उदाहरण स्वरुप, अध्याय १५, २६, २७, ४९, ५६, ५८, ७० आदिलाई यथास्थानमा सिंहावलोकन गर्न सकिन्छ ।

गेरु वा सादा लुगाभित्र घुस्नासाथ कोही सन्त बन्दैन । जसको जीवनमा निष्कामता, प्रपञ्चशून्यता एवम् अन्तर्मुखता झल्किन्छ, त्यो मात्रै सन्त हो । मूल चिनियाँ भाषामा सन्त शब्दका लागि शेंग रेन (Sheng Ren) शब्द प्रयुक्त छ, जसको अर्थ अनुवादकहरुले सामान्यतया Sage वा Saint निकालेका छन् । विल्हमले शेंग रेनको अर्थ पुकारेर भन्नेवाला मनुष्य (The Man of Calling) निकाले । यता सन्त कबीरले पनि स्वयम्लाई ‘कहहिं कबीर पुकारि के’ भनेका छन् ।

लाओत्सुको भाषामा सांसारिक ऐश्वर्य, यश, कीर्ति, बल, प्रतिष्ठा, लगातार माथि पुग्ने चाह, उच्च पद आदिले फगत अहंकारलाई जन्माउँछन् । फलस्वरुप विनाशको आगमन हुन्छ । बिरुवाहरु जब जीवनमा प्रवेश गर्दछन्, कोमल र नाजुक हुन्छन् । जब उनीहरु मजबूत एवम् कठोर हुन्छन्, तब उनीहरुलाई गिँडिन्छ । मजबुत, कठोर र अकडग्रस्त हुनु ताओ (नियम) को विपरीत हुनु हो । र, ताओको खिलाफ जानु भनेको विनाशलाई निम्तो दिनु हो । लाओत्सु सरल, नम्र र प्राकृतिक जीवनका पक्षधर हुन् । प्रेम, सन्तोष र सरलताले नै जीवनमा आत्मसन्तोष प्रदान गर्न सक्छन् ।

पछिल्लो पंक्तिमा सामान्य जीवन ज्यूँदा कलह हुँदैन । जसरी नदी तलतल बग्दै गएर सागरमा मिल्दछ, त्यसरी नै शक्तिशाली भए पनि शासक जब स्वयम्लाई दीनहीन र तुच्छ मान्छ, तब ऊ जनताको हृदयमा सहजै अवतरण गर्न सक्छ ।

 



प्रतिक्रिया दिनुहोस्