Logo

‘मुख्यमन्त्री ग्रामीण सडक’: योजना बजेट अभावले स्थगित



 

विराटनगर, फागुन २० । प्रदेश १ मा सञ्चालित ‘मुख्यमन्त्री ग्रामीण सडक’का सबै योजना बजेट अभावका कारण चालू आर्थिक वर्षमा स्थगित गरिएका छन् । बहुवर्षे, सालबसाली र उपभोक्ता समिति समेतले गरेको कामको ४ अर्ब रुपैयाँ भुक्तानी समेत हुन सकेको छैन ।

मुख्यमन्त्री ग्रामीण सडक पूर्वाधारको रूपमा प्रदेशभर ८६ योजना सञ्चालनमा थिए । आर्थिक वर्ष २०७५र२०७६ देखि शुरू भएका ती योजनामध्ये ४० प्रतिशत वित्तीय प्रगति भइसकेका ४६ योजना चालू आर्थिक वर्षमा भने स्थगित गरिएको हो ।

यी सडक पूर्वाधार योजना अन्तर्गत १२ किलोमिटर कालोपत्र, ५१ किलोमिटर ग्राभेल र १६५ किलोमिटर कच्ची निर्माण भइसकेको भौतिक पूर्वाधार मन्त्रालयका सूचना अधिकारी एवं इन्जिनीयर ओमप्रकाश साहले जानकारी दिए ।

भुक्तानी असन्तुलनका कारण गत आर्थिक वर्षको सालबसाली तथा उपभोक्ता समितिमार्फत अगाडि बढाइएका योजनाको अझै २३ करोड रुपैयाँ निकासा गर्न बाँकी छ । चालू आर्थिक वर्षका लागि बहुवर्षे योजना, सालबसाली, उपभोक्ता समिति समेतबाट निर्माण बढाइएका योजनाको मात्रै ४ अर्ब रुपैयाँ भुक्तानी सरेर आएको सूचना अधिकारी साहले बताए । उनका अनुसार बहुवर्षे योजनाको भुक्तानीको दायित्वको रूपमा अझै बाँकी छ ।

मोरङ र सुनसरीलाई हेर्दै आएको पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजनराज रेड्डीका अनुसार बजेट अभावका कारण प्रदेश गौरवको योजना घिनाघाट–विराटचोक सडकबाहेक अन्य बहुवर्षे योजना अहिले प्रभावित बनेका छन् ।

दुई जिल्लामा २२ ओटा सडक, १२ ओटा पुल र ११ ओटा झोलुंगे पुल बहुवर्षे योजनामा थिए । यी योजनाको काम समेत प्रभावित भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्