Logo

विप्लवलाई सरकारमा ल्याउने तयारी



काठमाडौं, फागुन २० । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव नेतृत्वको नेकपाले सरकारी टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो । अपराह्न दोस्रो चरणको वार्ता भएको थियो ।

सरकारी वार्ताटोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले कुराकानी सकारात्मक चरणमा पुगेको बताएका छन् । यसअघि सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापाले सुखद परिणाम आउने अपेक्षा गरेका थिए । ‘सरकार र विप्लव समूहबीच धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक रहेको छ । केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ,’ उनले भनेका थिए ।

वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भयो । वार्तापछि दुवै पक्ष उत्साही छन् । वार्तामा विप्लव नेकपाको टोलीले पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र थुनामा रहेका नेताकार्यकर्तालाई रिहा गर्न राखेको सर्तमा सरकारी पक्षले सहमति जनाएको छ ।

सर्तमा सहमति जनाएको सरकारी पक्षले उनीहरूसँग रहेका हतियार बुझाउन भनेको छ । वार्तामा बसेका विप्लव नेकपाका प्रतिनिधिहरूले भने आफूहरूसँग कुनै पनि प्रकारका हतियार नभएको बताएका थिए । सरकारी पक्षले विप्लव नेकपासँग हतियार भएको आशंका गर्दै आएको छ । सुरक्षा अधिकारीहरूले पनि विप्लव नेकपासँग हतियार रहेको जनाउँदै आएका छन् । ‘सरकारले हामीसँग हतियार माग्यो । हामीले हामीसँग हतियार छैन भन्यौं’, विप्लव नेतृत्वको नेकपा सम्बद्ध स्रोतले भन्यो ।

मकवानपुरको बाटो हुँदै मंगलबार काठमाडौं आएको विप्लव नेकपाको वार्ताटोलीका सदस्यलाई पूर्वमाओवादी सेनाका कमान्डर नेपबहादुर कुँवरले गृहमन्त्रीसँग सम्पर्क गराएका थिए । यसअघि गृहमन्त्रीकै सम्पर्क सूत्रको रुपमा काम गरिरहेका कुँवरले वार्ताको वातावरण बनाएका हुन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्