Logo

देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न खोज्दै पौडेल



काठमाडौं, २० फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको दौडमा छन् । उनले बुधबार सार्वजनिक रुपमै सरकारको नेतृत्वको अवसर आएमा नभाग्ने बोलेका छन् । तर, पार्टीभित्रैबाट उनलाई चुनौती बढेको छ ।

देउवा प्रधानमन्त्रीको दौडमा रहिरहँदा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा जान नहुने तर्क गरेका छन् । उनले आज पूर्वी नवलपरासीमा बोल्दै अहिले सरकारमा जाँदा घाटा हुने तर्क गरेका छन् । उनले भने,‘काँग्रेसलाई प्रतिपक्षमा बस्ने भन्ने जनादेश छ । अहिले सत्तामा गएर रमाउँदा दीर्घकालीन रुपमा काँग्रेसलाई घाटा छ ।’

पौडेलले आगामी निर्वाचनलाई ध्यानमा दिएर काँग्रेसले सोच्नुपर्नेमा जोड दिए । उनको यो अभिव्यक्ति देउवालाई प्रधानमन्त्रीबाट रोक्ने उद्देश्यबाट आएको हो ।

काँग्रेस १४ औं महाधिवेशन भदौभित्र गर्नैपर्ने वाध्यतामा छ । देउवा प्रधानमन्त्री भएमा फेरि सभापति जित्ने सम्भावना बलियो हुन्छ । उनले सत्ताको आँडमा जित हासिल गर्ने सम्भावना प्रबल हुन्छ । यही बुझेर पौडेल समूह देउवालाई रोक्न खोजिरहेको छ । देउवा भने रामचन्द्र पौडेललाई सानो चित्तको भन्दै सरकारमा जानबाट नरोक्न भनिरहेका छन् ।

काँग्रेसभित्र सरकारमा जान हुने या नहुने विषयले ठुलै विवाद आउने देखिदैछ । देउवाको सत्तारोहणको प्रयासमा पार्टी बाहिरभन्दा भित्रबाट ठुलो बाधा परिरहेको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्