Logo

देवदहमा बौद्ध विश्वविद्यालयको नयाँ पूर्वाधार निर्माण हुँदै



लुम्बिनी, २१ फागुन: लुम्बिनी बौद्ध विश्वविद्यालयले बुद्धको मावली देवदहमा आजदेखि डीन कार्यालय स्थापना गरेको छ ।

सरकारले विश्वविद्यालयका लागि देवदहमा करिब ९० बिघा जमिन उपलब्ध गराउने निर्णय गरेसँगै विश्वविद्यालयले डीनको कार्यालय स्थापना गरेको हो । सरकारले केही दिनअघि मात्र देवदहमा केन्द्रीय संरचनाका लागि झण्डै ९० बिघा जग्गाको स्वामित्व विश्वविद्यालयलाई प्रदान गरेको थियो । सोही जग्गामा पूर्वाधार निर्माण थालनीको प्रक्रियामा शुरु गरिइएको छ ।

विश्वविद्यालयअन्तर्गतको स्कूल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सको डीन कार्यालय देवदहमा खुलेको हो । देवदहमा विश्वविद्यालयले नयाँ पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । देवदहमा तपोवनसहितको पूर्वाधार निर्माण हुने विश्वविद्यालयले जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आज बिहान डीन कार्यालयको उद्घाटन र नयाँ पूर्वाधार निर्माणस्थलको अवलोकन गरे।

सो अवसरमा मन्त्री पौडेलले बौद्ध विश्वविद्यालयलाई विश्वस्तरमा चिनिने बनाउनुपर्ने बताए । अर्थमन्त्री पौडेलले विश्वविद्यालको विकासका लागि सरकारले लगानी गर्ने र बौद्ध क्षेत्र, शिक्षामा अनुसन्धानसहित बहुविषयमा यसलाई विश्वस्तरमा चिनिने विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको पूर्वाधार र सडक पूर्वाधार एकैसाथ निर्माण गर्दै यसलाई पर्यटकीय क्षेत्रकै रुपमा विकास गर्नुपर्ने बताए ।

सांसद छविलाल विश्वकर्माले निकै मेहनतले देवदहमा विश्वविद्यालयले जग्गा प्राप्ति गरेको भन्दै अब यसको पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्ने बताए । उनले यो हजारौँ विद्यार्थीले भरिएको विश्वविद्यालय बन्ने बताउँदै त्यसका लागि अहिलेदेखिनै दीर्घकालका लागि महत्व राख्ने गरी योजना बनाउनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बौद्ध विश्वविद्यालयले देवदहको पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास गरे। विश्वविद्यालयले चालु शैक्षिक सत्रबाट देवदहमा तीन विषयको पठनपाठन गरेको उपकुलपति डा हृदयरत्न बज्राचार्यले जानकारी दिए ।

एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिजका स्नातकोत्तर कक्षा देवदहमा शुरु भएका छन् । बुटवल र लुम्बिनीमा पठनपाठन गराइरहेको विश्वविद्यालयले बुटवलमा पनि डीन कार्यालय खोल्ने निर्णय गरेको छ । पछिल्लो विश्वविद्यालय सभाले डीन कार्यालयसहितको आंगिक क्याम्पस बुटवलमा खोल्ने निर्णय गरेको र त्यसको पूर्वाधार नयाँगाउँमा बन्ने विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले जानकारी दिए ।

एग्रो फोरेष्ट्र, इन्भाइरन्मेन्ट र डेभलपमेन्ट स्टडिज नयाँ खुलेका विषय हुन । यो सङ्कायका डीन उकेशराज भुजुले प्राकृतिक स्रोत उपयोग गर्दै आर्थिक उपार्जन गर्ने उद्देश्य यी पाठ्यक्रम लागू गरेको बताए ।-रासस



प्रतिक्रिया दिनुहोस्