Logo

स्वर्णिम अवसरलाई सफल तुल्याऔँ : विप्लव



काठमाडौँ, २१ फागुन: नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न आज राष्ट्रिय सभागृहमा आयोजित समारोहमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आजको सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन भन्ने पुष्टि गरेको बताए । उनले भने, “शान्तिपूर्ण राजनीतिका माध्यमबाट विकास र समृद्धिको यात्रामा अघि बढ्ने सहमतिप्रति पूर्ण प्रतिबद्ध छौँ, सहमति पालना गर्छाैँ ।”

कसैलाई पनि पीडा दिएर होइन नेपाली श्रमको योगदानबाटै मुलुकलाई विकासको चरणमा रुपान्तरण गरौँ भन्दै महासचिव चन्दले जनतालाई आफ्नो भविष्यबारे फैसला गर्न अधिकार दिनुपर्ने धारणा व्यक्त गरे । जनता र राष्ट्रको हितका लागि जुटेको स्वर्णीम अवसरलाई सफल तुल्याउन उहाँले सबैसँग आग्रह गरे ।

प्रधानमन्त्री ओली र महासचिव चन्दको उपस्थितमा भएको सहमतिपत्र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्माले आदानप्रदान गरेका थिए । सरकार र चन्द समूहको नेकपाबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारामा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने तीनबुँदे सहमति भएको छ ।

विसं २०७५, फागुन २८ गते भूमिगत राजनीतिकमा प्रवेश गरेको नेकपा चन्द समूह सरकारसँगको निरन्तर एक वर्षको वार्ता र छलफलपछि शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको हो । देश र जनताको हितलाई ध्यानमा राखेर चन्द समूहसँग करिब एक वर्षदेखि औपचारिक र अनौपचारिक तथा विभिन्न माध्यामबाट वार्ता हुँदै आएकामा नेपाली कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण घटना भएका दिनको अवसरमा सहमति जुटेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले बताए ।

नेकपाको वार्ता टोलीका सदस्य दीपक चलाउनेले अग्रगमन, शान्ति र स्थायित्वका लागि आज भएको सहमति ठूलो उपलब्धि र इतिहासको रचना गर्ने नियमित आकस्मिकता र संयोग निर्माणमा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र दुवै तर्फका वार्ता टोलीका सदस्यसहितको उपस्थिति थियो भने कार्यक्रमस्थल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको हल र परिसर खचाखच भएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्