Logo

बामदेवले राजीनामा दिनुहोस् भन्दा ओलीको जवाफः मेरो कुर्सी ताक्नेलाई भन्नुहोस्



काठमाडौं, २१ फागुन । ‘तपाईं राजीनामा दिएर पार्टी एकता बचाउनुहोस् !’ भैंसेपाटीस्थित निवासमा भेट्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बामदेव गौतमले सिधै भने । जवाफमा ओलीले भने, ‘मलाई भन्ने होइन मेरो कुर्सी ताक्नेलाई भन्नुहोस् !’

यसरी ओलीले कुनै हालतमा राजीनामा नदिने अडान लिए । उनले आफू जुनसुकै चुनौतीको सामना गर्न तयार रहेको जवाफ दिए ।

प्रष्ट कुरा गर्ने स्वभावका गौतमले पार्टीलाई जोगाउनका लागि त्याग देखाउन ओलीलाई आग्रह गरे । राजीनामा दिएर मार्ग प्रशस्त गरे पार्टी एक पनि हुने र साथ पनि दिने गौतमले बताए । विश्वस्त स्रोतका अनुसार गौतमले सिधै ओलीलाई साथ दिन नसक्ने जवाफ दिए । उनले पार्टी एकता बचाउने बाहेकको विषयमा आफूले साथ दिन नसक्ने स्पष्ट पारे ।

गौतमले ओलीलाई सम्झाउन खोजे पनि सहमति नभई फर्किए । बरु ओलीले मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन आग्रह गरे । उनले गौतमलाई पत्नी तुलसा थापासहित आउन निम्तो दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमको स्वास्थ्य अवस्था पनि बुझेका थिए । घरमा लडेर घाइते भएका गौतमलाई सामान्य चोट लागेको छ ।

पछिल्लो समय गौतम कुनै पनि गुटमा छैनन् । उनी एकता अभियान चलाएर बसेका छन् । उनको साथमा आधा दर्जन सांसद रहेको बुझिएको छ । गौतमले ओली र प्रचण्डलाई मिलाउन प्रयास गर्दै आएपनि सफलता हासिल गरिरहेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्