Logo

पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी



काठमाडौं, फागुन २१। मेलम्चीको पानी काठमाडौं आएपछि नयाँ र पुरानै वितरण प्रणालीबाट वितरण गरिनेछ । तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ ।

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छ । परीक्षण सफल भए दुुई महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ । सुन्दरीजलमा आएको पानी प्रशोधन केन्द्रबाट चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु¥याएर वितरण प्रणालीबाट ग्राहकका धारामा पठाइनेछ । मेलम्चीको पानी आएपछि पहिलो चरणमा प्रसारण लाइन र पाइप लाइन परीक्षण गरिने मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ ।

करिब एक हप्ताको परीक्षणपछि नियमित रूपमा पानी वितरण हुनेछ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइप लाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिले जानकारी दिए । उनका अनुसार नयाँ पाइप लाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिने छ ।

मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा ९८० किलोमिटर सम्पन्न गरेको छ । थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किलोमिटर सम्पन्न भइसकेको छ । थोक वितरण प्रणालीको परीक्षण सकिएको छ ।

चक्रथपभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न गरिएको छ । दोस्रो चरणको वितरण प्रणाली चक्रपथबाहिरको क्षेत्रमा हुनेछ । चक्रपथबाहिरको क्षेत्रलाई याङ्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइप लाइन विस्तार गरिनेछ ।

हाल मेलम्ची आउनासाथ आफूहरू पानी वितरण गर्न सकिने अवस्थामा रहेको उपनिर्देशक प्रजापतिको भनाइ छ । पुरानो वितरण प्रणाली पनि मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्