Logo

अर्थमन्त्रीले शिलान्यास गरेको स्तम्भ स्थानीयले भत्काए



बुटवल, फागुन २२ । स्थानीयको मागलाई बेवास्ता गर्दै अर्थमन्त्री विष्णु पौडेलले रूपन्देहीको मौतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। शिलान्यासका लागि आएका अर्थमन्त्रीको गाडीलाई लक्षित गरेर स्थानीयले ढुंगासमेत प्रहार गरेका छन्।

औद्योगिक क्षेत्रको शिलान्यास सकेर अर्थमन्त्रीले कार्यक्रमलाई सम्बोधन गरिरहँदा स्थानीयले माइकका लागि जोडिएको बिजुलीको लाइन काटिदिए। माइक काटिएपछि पौडेल बीचमै सम्बोधन छाडेर हिँडेको स्थानीयले बताएका छन्। आक्रोशित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरी ढुंगा प्रहार गरेपछि पौडेल समर्थक नेकपाका कार्यकर्ताले पनि स्थानीयलाई लक्षित गरी ढुंगा हाने।

लगत्तै प्रहरीले लाठीचार्ज गरेपछि झडपमा १२ जना प्रदर्शनकारी घाइते भएका छन्। सशस्त्र र प्रहरीका केही जवान पनि सामान्य घाइते भएका छन्। कार्यक्रम स्थलमा ठूलो संख्यामा प्रहरी तैनाथ भए पनि स्थानीयलाई रोक्न हम्मेहम्मे परेको प्रहरीले बताएको छ। प्रहरीले रोक्दारोक्दै पनि स्थानीयले पौडेलले शिलान्यास गरेको स्तम्भ तोडफोड गरिदिएका छन्।

वर्षौंदेखि जोतभोग गर्दै आएका स्थानीयको जग्गा उनीहरूलाई जानकारी नै नदिई औद्योगिक क्षेत्रको नाममा लालपुर्जा निकालेर योजना अगाडि बढाएपछि स्थानीय त्यसको विरोधमा थिए। स्थानीयले यसबारे पटकपटक सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाई आफ्ना माग राखेका थिए। उनीहरूले बिहीबार पनि पत्रकार सम्मेलन गरेर वैकल्पिक व्यवस्था नगरी आयोजनाको शिलान्यास नगर्न आग्रह गर्दै जबरजस्ती गरे कार्यक्रम बिथोल्ने चेतावनी दिएका थिए।

तर स्थानीयको माग सम्बोधन गर्नुको साटो स्वयं अर्थमन्त्री पौडेलले बिहीबारै तिलोत्तमामा आयोजित एक कार्यक्रममा शिलान्यास कार्यक्रम कसैले रोक्न नसक्ने भन्दै भाषण गरेका थिए। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रमुखले पनि सुरक्षा घेरामा भए पनि शिलान्यास कार्यक्रम गर्ने भन्दै स्थानीयलाई विकासविरोधीको आरोप लगाएका थिए।

त्यसपछि आक्रोशित स्थानीयले शिलान्यास कार्यक्रमका लागि बनाइएको मञ्च बिहीबार साँझ नै भत्काइदिए। त्यसपछि रातारात मञ्च बनाइएको थियो। बिहीबार साँझदेखि नै ठूलो संख्यामा सुरक्षा कर्मीले कार्यक्रम स्थललाई सुरक्षा घेरा हालेर राखेका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्