Logo

फेरि आयोग पुग्यो दाहाल–नेपाल समूह



बुटवल, फागुन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह आधिकारिकता दाबी गर्दै दोस्रोपटक निर्वाचन आयोग पुगेको छ। सो समूहले यसअघि गरेको आधिकारिकता दाबीसम्बन्धी प्रक्रिया हदम्याद समाप्त भएका कारण अघि बढ्न नसकेपछि फेरि शुक्रबार आयोगमा पुगेर आधिकारिकता मागसम्बन्धी पत्र बुझाएको छ। उक्त समूहले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता माग गरेको हो।

समूहले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई विपक्षी बनाई पाँच पृष्ठ लामो पत्र आयोगमा दर्ता गराएको छ। पत्र लिएर दाहाल–नेपाल समूहका लीलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिँडारीलगायतका नेताहरू आयोग पुगेका थिए। उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायतका पदाधिकारीसँग छलफलसमेत गरे।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिक रूपमा विभाजित नेकपाका ओली समूह र दाहाल–नेपाल समूहले आधिकारिकता दाबी गर्दै आएका छन्।

प्रतिनिधिसभा विघटनपछि दुवै पक्षले आआफ्ना समूहको बैठक राखेर केन्द्रीय समितिमा गरिएको परिवर्तन गर्दै त्यसको अभिलेख राख्न आयोगमा पत्र पठाएका थिए। तर आयोगले दुवै पक्षको माग अस्वीकार गरेको थियो।

दुवै पक्षले दफा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी नगरेपछि आयोगले गत माघ ११ गते नेकपा कानुनी रुपमा एउटै दल भएको र ऐन तथा पार्टीको विधानअनुसार दुई अध्यक्षको सहमतिमा भएको निर्णयमात्रै मान्य हुने निर्णय सुनाएको थियो। त्यसपछि दाहाल–नेपाल समूहले माघ २० गते आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन दिएको थियो।

विवाद प्रारम्भ भएको ३० दिनभित्र आधिकारिकताका लागि निवेदन दिनुपर्नेमा ४५ दिनपछि आधिकारिकता माग भएकाले हदम्याद समाप्त भएको भन्दै आयोगले विवाद निरुपण प्रक्रिया अघि बढाएको थिएन।

सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेपछि आयोगले बिहीबार विधि पु¥याएर आएमा विवाद निरुपण प्रक्रिया अघि बढाउने बताएको थियो। दाहाल–नेपाल समूहले दोस्रोपटक आधिकारिकता दाबी गरेपछि आयोगले सोही चरणबाट प्रक्रिया थाल्ने भएको छ। आधिकारिकता दाबी गर्न आयोग पुगेका दाहाल–नेपाल समूहका नेताहरूसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार आयोगको बैठक बस्ने र त्यहींबाट प्रक्रिया सुरु हुने बताएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्