Logo

बिस्निया थरुनीको कथा



रेशम विरही : 

म एक्लै छु ।

एउटा थोत्रो लुँगीको टालोले कम्मरमुनिको आधा शरीर छोपेर आधा नाङ्गो बसेको छु, एउटा थारो आँपको रुखमुनि । मसँग केही पनि छैन र कोही पनि छैन । म यो जे लेखिरहेछु र तपाईं जे पढिरहनुभएको छ, यो एउटा बकवास पनि होला, अवसाद पनि होला, परिसंवाद पनि होला, आत्मालाप पनि होला । जे जे छ यसभित्र आगाको फिलिङ्गामा ताप चुहिएर झ्वाइँय् हुँदै सुकेका आँसु, पसिना र मयलका लुँडाहरू होलान् ।

म एउटा गम्भीर दृश्यावलोकनमा छु ।

म एउटा प्लास्टिकको कुर्सीमाथि छु । चर्को गर्मी छ, वायु शून्य छ, आकाश नाङ्गो छ र वातावरण सुनसान छ । म बसेको कुर्सीमुनि कमिला र कीराहरूको लडाइँ छ । एउटा मरेको माकुरो एक हुल कमिलाहरूले बोकेर लगे । एउटा गाइनेकीरो उड्दै थियो– मेरो थाप्लोमाथि । त्यतिबेलै आकाशमा विमान पनि देखियो । विमानको उडान र गाइनेकीराको भुँभुँ भरररको आवाज मलाई उस्तै उस्तै लाग्यो । विमानको उडेर हरायो । गाइनेकीरा पनि आँपको रुखको टुप्पाको पुगेर कता बिलायो, पत्तो पाइनँ ।

दृश्य, दृष्टि र समय

समय मसँग छरपस्ट छ । म त समय समात्न नसकेर, नजानेर वा नबुझेर असरल्ल जीवन गुजारिरहेको मानिस । तथापि यो असारको १५ । गाउँमा खेतीको माचामाचको समय । मलाई भने समय खाएर दिन कटाउन नसक्नुको छटपटी । आँपको रुखमा यदाकदा बस्ने भँगेराहरूको चिरबिरले पनि अलिकति समय खायो । दृष्टि दिग्भ्रमित छ । प्रकृतिको सुरम्य स्वादमा हराउँछ मेरो समय । मानिसका श्रम पसिनाहरू हेर्दा र आफू श्रमहीन कथित बाँच्नुको कठिन यात्राको यायावर । मेरा आँखाहरू पर पर घुमे ।

आँखाको यात्रा अचानक टक्क रोकियो र मनको एउटा करेसोमा गाउँतिर घुम्ने इच्छा पैदा भयो । एउटा छाता र मोबाइल राख्ने गरेको पुन्टुरो भिरेर निस्कन्छु । बकैना, अम्रिसोघारी र गेन्द्रेनले छपक्कै पारेको बाटोमा मेरा पैतलाहरू मार्चपास गर्न थाल्छन् ।

दृश्य ः म जहाँ बस्छु अथवा मेरो घर नामको एउटा हात्तीको टाउकोजस्तो बेछन्दको कटेरो छ । कटेराको अगाडि उभिएको थारो आँपको रुखको फेद मेरो दृष्टिपात गर्ने थलोबाट बाहिरिन्छु । म त्यहीँबाट मानिसहरूको आवागमन हेर्छु, सवारी साधनहरूको गाउँजस्तै पातलो चाप हेर्छु । मेरो आँखा अगाडि धान खेतका गराहरू पसारिएका छन् र ती गराहरूमा मानिसहरूको कोलाहल छ, ट्याक्टरको घ्यारघ्यार छ र पङ्क्तिबद्ध महिलाहरू निहुरिएर धान रोपिरहेको सौन्दर्य छ । यी सब दृश्यहरू हेर्दै म बेसरम भुँडी पल्टाउँदै हिँड्छु र पत्नीले करेसाबारी गोडमेल गरिरहेको दृश्य पनि लाज पचाएर कर्के आँखाले हेर्छु ।

म बसेको घर नजिकै आदिवासी थारुहरूको गाउँ छ । हरैया नामको गाउँमा अहिले थारुहरूको आवादी कम र अरु जातिको आवादी बढी छ । त्यो गाउँनजिकै गुरुङ र तामाङहरूको बाक्लो बस्ती छ । गुरुङचोक, लामाचोक र लप्टनडाँडा यी सबै जातीय अह्मले जुराएका नामहरूको स्वाद मलाई पनि मीठो लाग्दै आएको छ । म पनि यसै रमाएको छु ।

मैले यहाँ कटेरो हालेर बस्न थालेको तेस्रो वर्ष भयो । म लप्टनडाँडामा उभिएर हरैयाको गाउँतिर आँखा डुलाएँ । थारु गाउँको आफ्नै खालको गन्ध, रस र सुन्दरताले मेरो मन लोभ्यायो । म टुकुटुकु त्यता लम्किएँ । कुखुराका चल्ला, हाँसका बथान र सुँगुरका पाठाहरू हेर्दै म गाउँको बीचमा पुगेँ । एउटा घरको पिँढीमा एउटी वृद्धा बडेमानको सिलाबरको बटुकामा छ्याङ पिउँदै रहिछन् । उनको अगाडि एउटी थरुनी युवती भुड्को लिएर बसेकी थिइन् । वृद्धा तामाङ्नी रहिछन्, थरुनी युवतीकी मितिनी सासू । मलाई देख्ने बित्तिकै वृद्ध आमै चिच्याइन्, ‘ए पत्रकार बाबु, कता हिँड्नु भो ? आउनोस् बसुम् !’ म अलमलमा परेँ । न मैले उनलाई चिनेको थिएँ, न देखेको नै । उनले मेरो सारा वृत्तान्त जानिसकेकी रहिछन् क्यारे, म उनीतिरै लागेँ ।

युवतीले एउटा पिर्का दिइन्, म टुसुक्क बसेँ । वृद्ध आमाको प्रवचन शुरु भो । मैले सुनिरहेँ ।

भारतीय सेनाबाट निवृत्त पतिको स्वाभाविक मृत्यु र एउटा पुत्रको माओवादी युद्धकालमा अस्वाभाविक हत्याका यावत् कथाहरू उनले सुनाइन् । उनको परिचय नै ‘सुब्दार्नी आमा’ रहेछ । उनले मलाई केही कठिन प्रश्नहरू सोधिन् । म उनका प्रश्नहरूको जवाफ दिने औकातको थिइनँ । यही भनेर उनको चित्त बुझाएँ र घर फर्किएँ । त्यसै रात मैले एउटा कविता लेखेँ, ‘हल्दार्नी आमाको प्रश्न कविलाई’ । र, त्यो कविता ‘अन्नपूर्ण पोस्ट्’ मा पठाएँ । दीपक सापकोटाले छापे पनि । मैले कवितामा उनको प्रश्नहरूको मनोविज्ञान उठाएँ, काम भने छिपाएँ– सुब्दार्नी आमा । यो सन्दर्भ मैले यहाँ ल्याउनुमा लेख्नुको मात्र प्रयोजन छैन । हरैयाको, बेलुवाको भुवन बस्तीको र जातीय चोकहरूको चरित्र र संस्कृति खोज्नु छ । सुब्दार्नी आमा अलि विरसिली रहिछन् । ठाडो र चर्को स्वरमा आधाभन्दा बढी अश्लील शब्दहरू छताछुल्ल पार्दी रहिछन् । कुरै कुराको सन्दर्भमा मलाई पनि उनले थोरै अश्लीलता छोपिन्– ‘तँ जाँठो पत्रकारले पनि मेरो छोरो मारिँदा के ख्याँसिस् ?’ म त एकछिन अत्तालिएँ । उनमा जाँडको नसा चढ्दै थियो, मभित्र अनेक आशङ्का उम्रँदै थिए ।

त्यतिबेलै एउटा पट्ठो केटो आइपुग्यो र दुई बटुका जाँड तन्काएर हिँड्यो । थरुनी युवतीको लोग्ने आयो र मलाई आँखा तर्दै भित्र पस्यो । ऊ भित्र गएपछि युवतीको भयभीत अनुहारले उसको लोग्ने हो भन्ने जनाउ दिएको थाहा पाइसकेको थिएँ । तर ती मुखाले सुब्दार्नी आमाले प्याच्चै भनिन्– ‘जा तेरो पोई आयो, भित्र गएर मुसार्दे ।’

हल्दार्नी आमाको आक्रोश, अश्लीलता र वाक्पटुताले मलाई रातभरि पछ्याइरह्यो । मैले उनीभित्रको आवेगको तात्पर्य खोज्ने कोसिस गरिनँ तर उनका अभिव्यक्तिहरूलाई अश्लीलताको लान्छना मात्र लगाइरहेँ । पछि थाहा भयो– सुब्दार्नी आमा पहिले सज्जन, दयालु र मिलनसार थिइन् । नेपाली सेनामा जागिर खाएको छोरालाई माओवादीले हत्या गरेपछि विक्षिप्त भइन् र जथाभावी बर्बराउन थालिन् ।

भोलिपल्ट पनि म हरैया थारु गाउँ हुँदै बेलुवातिर लाग्दै थिएँ, उनै थरुनी युवतीको घर अगाडि पुगेछु । युवतीले कर्के आँखाले मलाई हेरिन् । मैले सोझै आँखा जुधाएर सोधेँ– ‘सुब्दार्नी आमा खोइ ?’ उनले मुसुक्क मुस्कुराउँदै जवाफ दिइन्– ‘बिहानै उठेर घर जानुभो । आउनुस्, तपाईं पनि एक बटुका जाँड खाएर जानुस् । हाँसको सितन पनि छ ।’ उनको बोलीमा मैले गहिरो मोहकता छचल्किएको पाएँ । जाँडपानीको खासै सोखिन नभए पनि उनको मधुर आवाज र आग्रहले मलाई तान्यो । म अघिल्लै दिनमा झैँ उही पिँढी र उही पिर्कामा थ्याच्च बसेँ । ‘बटुको समात्नोस्,’ उन्ले भनिन् । मैले बटुको समातेँ ।

उनले मेरा अनुहारमा आँखा गाड्दै जाँड खन्याइन् । बटुको भरिएर जाँड पोखिँदासम्म उनले खन्याइरहिन् । मेरो अनुहारबाट उनको आँखा र उनले समातेको भुड्कोबाट जाँडको धारो सँगै टुट्यो ।

‘असारको बेला, खेत रोप्नु छैन तपाईंको ?’ एकसुर्की जाँड तानेर मैले सोधेँ ।

‘हाम्रो खेत नै छैन, निमेकमा जाने हो । बिहानभरि रोपेर आएँ ।’

‘तपाईंको बूढा खै त ?’

‘आमा पु¥याउन गयो, मोहना ।’

‘कहिले आउँछन् ?’

‘खै कहिले आउँछ, थाहा छैन ।’

‘तपाईंकी सासू र सुब्दार्नी आमा मित–मित हो ?’

‘होइन, मेरो बूढो र उनको मरेको छोराले मित लगाएका थिए । छोरा मरेपछि यसैलाई छोरा भन्छिन् । सँगै राख्न थालिन्, उनकै जातको बिहे गरिदिइन् ।

‘उनका अरु छोरा छैनन् ?’

‘छैनन् ।’

‘अनि तपाईंको नाम ?’

‘बिस्निया थरुनी !’

मैले जाँडको बटुको रित्याएपछि उनले फेरि थप्दै थिइन्, मैले रोकेँ । तैपनि दुईचार घुट्कीजति बटुकामा पोखिइहाल्यो । त्यो पनि पिएँ । मेरा प्रश्नभन्दा उनका उत्तरहरू धारिला थिए । मैले प्रश्नको पोको खोली नसक्दै उनको उत्तरको डल्लो हामफाली सक्थ्यो । अत्यन्त फरासिली, मीठो र मधुर आवाज, हिसी परेको अनुहार, न मोटी न पातली ठिक्कको जिउडाल । मलाई ती युवतीको सारा आनीबानी र बनोट मनपर्यो । कुरा गर्दै जाँदा ती युवती आफ्नो पतिको जेठी पत्नी रहिछन् । उनको लोग्ने तामाङ जातको कान्छी लिएर सुब्दार्नी आमासँगै पो बस्दो रहेछ । कहिलेकाहीँ जाँड बेचेको, हाँस–कुखुरा र सुँगुर बेचेको अनि मजदुरी गरेर कमाएको पैसा लिन मात्र आउँदो रहेछ । सन्तान र सम्पत्ति दुवै नभएकी, लोग्नेबाट परित्याग गरिए पनि बेलापखत उसैकी स्वास्नी भइदिने बाध्यताले छाप्रो कुरिरहेकी अनाथिनी रहिछन् ।

म ती युवतीको दुःखद र पीडादायी दैनन्दिनीबाट आहत हुँदै र जाँडको नसाबाट रनथनिँदै बेलुवातिर लागेँ । एउटा घुम्तीमा छेल नपरुन्जेल उनले मलाई हेरिरहिन् । मैले घुम्ती कट्नै लाग्दा छड्के परेर उनलाई हेरेँ ।

मलाई अनौठो प्रश्नले अँठ्याउन थाल्यो । त्यसको उत्तरबिनै म बेलुवा नगईकन अर्कै बाटो घर फर्किएँ ।

म मध्यरातसम्म ती युवतीको अनुहार र मनोविज्ञानमा अल्झिरहेँ ।

राती नै मैले निधो गरेँ । अब म ती गाउँहरूको चरित्र र संस्कृतिबारे कुनै अध्ययन गर्दिनँ र म त्यतातिर जाँदा पनि जान्नँ । म उनलाई अदृश्य प्रेम गर्छु, लेख्छु केही । मलाई आफ्नो अध्ययनको विषयभन्दा बिस्नियाको जीवनको चासो महत्त्वपूर्ण लाग्यो ।

म यो जो लेखिरहेछु– संस्मरण होइन, कथा होइन र निबन्ध पनि नभनिदिँदा हुन्छ । यसलाई एउटा कुण्ठाको वकपत्र, प्रेमाकाङ्क्षाको आत्मालाप वा पराजय पीडाको शोकपत्र जे भन्दा पनि हुन्छ ।

रानी मैले एउटा सपना देखेँ ।

मेरो अगाडि ठूलो सिमलको रुख छ । रुखमाथि एक हुल कौवाहरू छन् । तिनले बिछ्याएका सेता–काला टाटाहरूले रुखमुनिको चौर टाटेपाङ्ग्रे कुकुरको छालाजस्तै देखिएको छ ।

चारैतिर कोलाहलजस्तो लागिरहेछ । कतैबाट कुनै स्पष्ट आवाज आउँदैन । बीचबीचमा बिस्निया देखिन्छे र हराउँछे । सुब्दार्नी देखिन्छिन् र भाग्छिन् । बिस्नियाको पोई देखिन्छ तर आँखा तरेर हेर्छ । म कहिले रोमाञ्चित हुन्छु, उत्तेजित हुन्छु । कहिले तर्सन्छु र डराउँछु । रुखको टुप्पातिर हेर्छु र कागहरू उसै गरी कराइरहेका छन् ।

बिस्निया आएर मेरो अगाडि उभिई । मलाई बिस्निया एउटा रहस्यजस्तो लाग्यो । उसको अनुहारका पत्रहरू कोट्याउन थालेँ । सबभन्दा पहिला उसको बाबुको मुख देखियो । उसको बाबुले मलाई हेर्दै भन्यो– ‘म मोहना गाउँको जिम्दार थिएँ । अहिले म त्यही गाउँमा हरुवा छु । कसले खायो मेरो जीवनको पसिना ? मेरा पुर्खाको अस्तित्व र कसले ओझेलमा पारेर मेट्न खोज्दै छ मेरो पहिचान ?’

बिस्नियाकै मुखमा फेरि अर्को अनुहार देखियो । सुब्दार्नी आमाको चाउरी परेको गाला र खोपिल्टाजस्ता आँटल, चोथाले थुतुनो । उनी नबुझिने गरी बेस्सरी बर्बराइन् । के के भनिन् ? मैले पट्क्कै बुझिनँ ।

बिस्निया मेरा अगाडि ठिङ्ग उभिई । मतिर होइन, बाबुतिर फर्किई । मलाई लाग्यो, बिस्निया मेरो प्रतिरक्षामा आई । मसँग उसको बाबुको प्रश्नको जवाफ थिएन । चुपचाप सुत्नु र सहनुबाहेक मसँग विकल्प पनि थिएन । उसको पसिना, अस्तित्व र पहिचान स्खलनको जिम्मेवार म थिइनँ । म जुन सामाजिक चरित्रमा जन्मिएँ, त्यसको दोष म कसरी बोकूँ ? जुन संस्कार, रीति र चेतनाले उसको जातीय अस्तित्व सङ्कटमा छ । म वैचारिकरुपमा त्यसको पक्षपाती हुन सकूँला, तर म कसरी जिम्मेवारी हुन सक्छु ?

बिस्नियाको लेहङ्गामा आँखा र सोचाइको तरङ्गमा म एकछिन अलमलिएँ ।

राम्री थिई बिस्निया । सरल, शान्त र हँसमुख थिई । ऊभित्र बगिरहेको थियो, जीवनको एउटा कहालीलाग्दो नदी ! र, उसको मनको नदी उर्लिएर उसलाई नै कता बगाउने हो, स्वयम्लाई थाहा थिएन । उसको जीवनको डुङ्गामा बसेर बहाना चलाइरहेको उसको पोई र समाजले उसलाई कहाँ पु¥याउने हुन् ?

बाबुको अगाडि ठिङ्ग उभिएकी बिस्निया एकाएक चिच्याउन थाली, ‘म एउटी थरुनी युवती । सुक्दै गए बैँसका थुँगाहरू । मर्दै गए चाहना र प्राप्तिका मुनाहरू । मेरो लोग्ने अब थारु रहेन । मेरा ससुरा अब जिमिन्दार पनि होइन । हरुवाचरुवा हुँदै आफ्नै संस्कृति पोलेर त्यसैको आगोमा खरानी भए । कसरी पर्यो मेरो पहिचानको परिधिभित्र मलाई नै सिध्याउने विचारको कालो दस्तावेज ? मेरो घरभित्र मित भएर पस्यो, मितिनी आमा भएर पस्यो । साहु भएर पस्यो, आसामी भएर पस्यो । अन्ततः मेरो जीवन बैँस र वैभव सबै सत्यानाश पारेर गयो ।’

बिस्नियाले चिच्याउँदै यति भनी र डाँको छोडेर रुन थाली । म झल्याँस्स सपनाबाट ब्यूँझिएँ ।

म जर्याकजुरुक्क उठेर आफ्नो बिस्तारामा पलेटी कसेर बसेँ । मेरो मस्तिष्क बेस्सरी रिँङ्न थाल्यो । वास्तवमा बिस्नियाहरूको पहिचान कता हरायो ? उनीहरूको समाजभित्र चेतनाको लहरो सँगै पहिचान खाने कुन तत्त्वले प्रवेश पायो ? जिमिन्दार कसरी हरुवा, चरुवा र प्रजा हुँदै विनाशको दिशातिर लाग्यो ? सुब्दार्नी आमा किन बर्बराउन थालिन् ? उनको छोराको हत्याको पीडा बिर्सन एउटा युवतीको बैँसमाथि किन उछितो हालिन् ? बिस्नियाको लोग्नेले किन आफ्नो पहिचान बिर्सिएर गयो ? यावत् प्रश्नहरू मेरा मनमा उठिरहे ।



प्रतिक्रिया दिनुहोस्