Logo

प्रधानमन्त्रीको दौडमा प्रकाशमानको इन्ट्रि, के छ काँग्रेसभित्रको अंकगणित



काठमाडौं, २२ फागुन । नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आएपछि खुट्टा उचालेका सभापति शेरबहादुर देउवाले चुनौती बुझेसँगै आफू प्रधानमन्त्रीको दौडमा नभएको अभिव्यक्ति दिएका छन् । देउवाले पार्टीभित्र र बाहिरबाट आफूलाई रोक्ने रणनीति बुझेर बोली फेरेका छन् । जब कि उनले केही दिन अघि जिम्मेवारी आए नभाग्ने बताएका थिए ।

शुक्रबार साँझ सरकारमा जाने या नजाने निर्णय लिने भनिएको संसदीय दलको बैठकले कुनै निर्णय लिन सकेन । देउवाले पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले आखिर किन त्यस्तो भने ?

देउवालाई पार्टीभित्रबाट प्रधानमन्त्री बन्न नदिने प्रयास भइरहेको छ । देउवा प्रधानमन्त्री बनेमा उनी नै १४ औं महाधिवेशनमा सभापति बन्ने निश्चितप्रायः छ । त्यसैले देउवाविरोधीहरु अहिले एकजुट भएका छन् । यसपटक देउवालाई प्रकाशमान सिंहले कडा चुनौती दिन थालेका छन् ।

सिंहले प्रधानमन्त्रीको दौडमा आफूलाई प्रस्तुत गरिसकेका छन् । रामचन्द्र पौडेल पनि सिंहको पक्षमा छन् । महामन्त्री डा. सशांक कोइराला पनि देउवालाई रोक्ने दाउमा छन् ।

काँग्रेस संसदीय दलमा देउवा स्पष्ट बहुमतमा छन् । तर, त्यो अंकगणितमा केही फेरबदल आइसकेको छ । काँग्रेससँग प्रतिनिधि सभामा ६३ सांसद छन् । संसदीय दलको चुनाव हुँदा देउवाको पक्षमा ४२ मत परेको थियो । सिंहको पक्षमा २१ मत परेको थियो । त्यतिबेला डा. सशांक कोइराला र गगन थापाले देउवालाई मत दिएका थिए । दुवै देउवा इतर समूहमा छन् ।

सशांक र गगनको मत यताउता हुँदा देउवाको पक्षमा ४० र इतर पक्षमा २३ मत पर्न सक्छ । अब १४ मत यताउता हुँदा देउवा संसदीय दलमा चुनौतीको सामना गर्नुपर्ने अवस्थामा हुनसक्छन् । देउवाले सरकारमा जान खुट्टा उचालेमा संसदीय दलको नेताबाट हट्नुपर्ने अवस्था हुनसक्ने सम्भावना पनि बढेको छ । यही बुझेर देउवा हच्किएका छन् ।

काँग्रेसभित्र देउवा पटक पटक प्रधानमन्त्री बनेको र उनको नेतृत्वको काँग्रेस कमजोर बनेको विषय उठिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा देउवाले त्यसलाई अप्रत्यक्ष रुपमा साथ दिएको खुलिसकेको छ । ओलीकै भाकामा देउवाले चुनावमा जोड दिए । तर, प्रतिनिधि सभा पुनःस्थापनापछि देउवामाथि विगतको कार्यशैलीले प्रश्न उठाएको छ ।

पछिल्लो समय पौडेल समूहले देउवाविरुद्ध सक्रियता बढाएको छ । विश्वस्त स्रोतका अनुसार केही सांसदहरु कुनै पनि बेला गुट परिवर्तनको तयारीमा रहेका छन् । काँग्रेसले सरकारको नेतृत्व गर्ने निर्णय संसदीय दलले गरेमा देउवाको विकल्प खोज्ने सम्मको कदम चाल्न पौडेल समूह लाग्ने देखिएको छ । त्यतिबेला प्रकाशमान सिंह नै अगाडि बढ्ने निश्चितप्रायः छ । सिंहले निकटस्थ सांसदहरुसँग छलफल समेत चलाएको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्