Logo

नेकपाको संसदमा अंकगणितः ९० बढी सांसद पक्षमा रहेको दुवै समूहको दाबी



काठमाडौं, २२ फागुन । नेपाल कम्युनिस्ट पार्टीभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपालले नेतृत्व गरेको अलग समूहले संसदीय दलमा आ-आफ्नो पक्षमा बहुमत रहेको दाबी गरेका छन् । आज ओली समूहको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ९१ जना सांसद सहभागी भएको दाबी गरिएको छ ।

आजको बैठकमा कुल १ सय २४ जना सांसद सहभागी रहेको नेकपा नेता खिमलाल भट्टराईले बताए । उनले ९१ जना प्रतिनिधि सभा सांसद रहेको दाबी गरे । तर, कसैको पनि नाम र हस्ताक्षर संकलन गरिएको छैन । ओली समूहका ९१ सांसद उपस्थित भएको स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ ।

कानुनी रुपमा विभाजित नहुँदा प्रतिनिधि सभामा १७४ सांसद संख्या रहेको अवस्था छ । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनुअघिको सिट संख्यामा एमाले माओवादीभन्दा दोब्बरले बढी सिट रहेको अवस्थामा थियो । एमालेको १२१ सिट हुँदा माओवादी केन्द्रको ५३ सिट थियो । दुवै पार्टी एकीकृत भएपछि १७४ सिट संख्या थियो ।

ओली समूहले दाबी गरेजस्तै ९१ सांसद साथमा भएको हो भने दाहाल-नेपाल समूहमा ८० भन्दा कम सांसद मात्र हुनेछन् । केही सांसद उपाध्यक्ष बामदेव गौतमको पक्षमा छन् । उनीहरु तटस्थ भूमिकामा छन् । गौतम पक्षले ७ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ । त्यसो हो भने दाहाल-नेपाल समूहमा ७६ सांसद मात्र हुनेछन् । यसअघि दाहाल-नेपाल समूहले ९१ सांसदको हस्ताक्षर संकलन गरेको थियो । त्यसमध्ये केही ओली समूहमा लागेका छन् । केही तटस्थ भुमिकामा छन् ।

दाहाल नेपाल समूहको दाबी सही हो भने उक्त समूहमा ९१ सांसद छन् । त्यस अवस्थामा ओली समूहसँग ७६ सांसद हुनेछन् । बाँकी बामदेव पक्षधर हुन् ।

नेकपाको दुवै समूहको आ-आफ्नै दाबी छ । कोसँग कति सांसद छन् र कति शक्ति छ भन्ने टुंगो संसदमा अविश्वासको प्रस्ताव दायर हुँदा मात्र प्रष्ट हुन्छ ।

अविश्वासको प्रस्ताव एकपटक दर्ता गरेर असफल भएमा एक वर्षसम्म फेरि दर्ता गर्न मिल्दैन । यसकारण पनि ओलीविरोधी समूह असफल हुनेगरी अगाडि बढ्न चाहिरहेको छैन । दाहाल-नेपाल समूह काँग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मात्र अगाडि बढ्न खोजिरहेको छ ।
ओलीले अविश्वासको प्रस्ताव असफल पार्न काँग्रेस या जनता समाजवादी पार्टीमध्ये कुनै एक दलको कम्तिमा साथ लिनुपर्ने हुन्छ ।

काँग्रेस ६३ सिटको अवस्थामा छ । अहिलेको अंकगणित हेर्दा नेकपाको जुनसुकै पक्षले काँग्रेससँग मिलेर सरकार बनाउन सक्ने संख्या पुग्छ । तर, जनता समाजवादी पार्टीको संख्या भने बहुमतका लागि पर्याप्त हुँदैन । जसपाको ३४ सिट छ । काँग्रेस र जसपासहित नेकपाको विभाजित कुनै पनि समूहको सरकार बन्न सक्ने सम्भावना उत्तिकै छ ।



प्रतिक्रिया दिनुहोस्