Logo

सत्ताको सुई को तिर ?



काठमाडौ, २२ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएपछि राजनीतिमा तरंग आएको छ । यसअघि प्रधानमन्त्री बन्न तम्सिएका देउवा एकाएक पछाडि हटेको संकेत हो यो ।

देउवाले दुई कारणले प्रधानमन्त्रीको दौडमा नरहेको बताएको बुझिन्छ । पहिलो पार्टीभित्रबाट आफूलाई प्रधानमन्त्री बन्न नदिइने बुझेर या नेकपाको कानुनी विभाजन नभई अगाडि बढ्दा ठुलो झड्का खानुपर्ने अवस्था भएर । जे होस् देउवा पछाडि हटेको लगभग निश्चित भइसकेको छ ।

देउवा दौडबाट बाहिरिएका हुन् भने सत्ताको सुई अब कि त उनकै दलका अर्का नेता या तेस्रो ठुलो दल जनता समाजवादी पार्टी तर्फ पुगेको छ । काँग्रेसभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्रीका दाबेदार हुन् । उनले विगतमा संसदीय दलको चुनावमा देउवालाई चुनौती दिई ६३ सांसदमध्येबाट २१ मत प्राप्त गरेका थिए । देउवाले त्यतिबेला ४२ मत पाए । अब १४ सासद तान्न सकेमा वा देउवाको समर्थन पाएमा मात्र प्रकाशमान संसदीय दलको नेता बनेर प्रधानमन्त्रीको बलियो दाबेदार बन्न सक्छन् ।

काँग्रेसभित्र देउवाले विपक्षमै बस्ने बताइरहँदा अर्को दल जनता समाजवादी पार्टीतर्फ पनि सत्ताको सुई घुमेको छ । जसपाभित्र प्रधानमन्त्रीको दाबेदार तीनजना छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य दाबेदार हुन् । भट्टराईको नाममा प्रचण्ड पनि सकारात्मक हुने सम्भावना छ । दुई नेताबीच प्रतिनिधि सभा विघटनको कदमविरुद्ध कडा रुपमा प्रस्तुत हुने सहमति हुँदा भेटवार्ता भएको थियो । यो आफैमा अर्थपूर्ण बन्यो ।

भट्टराई प्रधानमन्त्री बन्ने गरी अविश्वासको प्रस्ताव लाने नेकपाको प्रचण्ड-नेपाल समूहलाई कम्तिमा १०० सांसदसहित बढ्नुपर्ने हुन्छ । बाँकी सांसदको समर्थनका लागि साना दलको समर्थन अनिवार्य हुन्छ ।

नेकपाको कानुनी रुपमा विभाजित नभएकोले प्रधानमन्त्री ओली नै सत्तामा रहने सम्भावना पनि छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नयाँ प्रस्ताव आउन पनि कठिन देखिएको छ । दाहाल नेपाल समूहको काँग्रेस र जसपासँग सहमति बनिसकेको छैन । कस्को नाम प्रधानमन्त्रीका लागि लिएर जाने भन्नेमा अझै अन्यौल देखिन्छ । यसले ओलीलाई फाइदा पुगेको छ ।

नेकपाभित्र दाहाल-नेपाल समूह बलियो भई प्रचण्ड या माधवकुमार नेपालमध्ये एक प्रधानमन्त्रीका लागि अगाडि बढ्ने सम्भावना पनि बलियो छ । त्यसका लागि उनीहरुले काँग्रेस या जसपाको साथ लिनुपर्ने हुन्छ । काँग्रेसको साथ लिंदा अहिले नै आवश्यक संख्या पुग्छ । तर, जसपाको साथ लिने कम्तिमा एक सय सांसद साथमा हुनुपर्छ ।

दलहरुबीच विश्वासको संकट कायमै हुने हो भने फेरि चुनावी सरकारमा सहमति भई स्वतन्त्र व्यक्तिको अध्यक्षतामा चुनावी सरकार बन्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाको भाग्योदय हुनसक्छ । तर, यो सम्भावना कमजोर छ ।



प्रतिक्रिया दिनुहोस्