Logo

काठमाडौँ मेयर कप क्रिकेट : पुलिस दुई रनले विजयी



काठमाडौँ, २२ फागुन: काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब दुई रनले विजयी भएको छ ।

मुलपानी क्रिकेट मैदानमा भएको पहिलो खेलमा पुलिसले वाग्मती प्रदेश टोलीलाई पराजित गरेको हो । टस जितेर ब्याटिङ गर्दै पुलिसले निर्धारित ५० ओभरको खेलमा २५ दशमलव दुई ओभरमा सबै विकेटको क्षतिमा मात्र ७२ रन बनायो । त्रिहत्तर रनको विजय लक्ष्य पछ्याउने क्रममा वाग्मतीले सवै विकेटको क्षतिमा २७ दशमलव दुई ओभरमा ७० रन बनाउन सक्यो । पुलिसका लागि मञ्जित श्रेष्ठले १५ तथा सुनिल धमला, अनिल साह र दिलीप नाथले १०÷१० रन बनाए । बलिङतर्फ वाग्मती प्रदेशका अरियो पौडेलले चार, नन्दन यादवले तीन र सोनु देवकोटाले एक विकेट लिए ।

त्रिहत्तर रनको विजयी लक्ष्य पछ्याउने क्रममा वाग्मती प्रदेशका लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ तथा आदिल खानले १० रन बनाए । बलिङतर्फ पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले चार, ललित राजवंशीले तीन, सागर ढकालले दुई तथा राशिद खानले एक विकेट लिए । खेलको प्लेयर अफ दी म्याच चार विकेट लिनुभएका पुलिसका दीपेन्द्रसिंह ऐरी घोषित भए । मेयर कप सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई रु ५० लाख उपलब्ध गराएको छ । प्रतियोगिताको उपाधि विजेताले रु पाँच लाख, उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ ।

शहीद स्मारक ‘बी’ डिभिजन लिगः ब्वाइज युनियन विजयी

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा ब्वाइज युनियन क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । ब्याइजका लागि एक मात्र निर्णायक गोल मिलन लिम्बूले गरेका हुन् । उनले खेलको ७२औँ मिनेटमा हेडमार्फत गोल गरेका हुन् । मध्यान्तर अघिको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

जितसँगै ब्वाइजले १० खेलबाट १७ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा यथावत छ । यस्तै टुसाल १० खेलमा नौ अङ्क जोडेर लिगको आठौँ स्थानमा छ । लिगमा १२ वटा क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्