Logo

सुनकोसी–मरिण डाइभर्सन: विकासको बहुआयामिक इन्जिन



कुसुमटार (सिन्धुली), फागुन २३ । पूर्व बग्ने सुनकोसी नदीको पानी पश्चिम बग्ने मरिणमा खसालेर तराईको उर्वर फाँटमा सिँचाइ गर्ने महत्वाकाङ्क्षी आयोजनाको शुभारम्भपछि सिङ्गो प्रदेश २ सँगै सिन्धुलीवासीमा खुसी छाएको छ ।

बिजुली बल्ने, माछापालन र तराई–मधेसका फाँट सिञ्चित भई उत्पादन बढ्ने हुँदा यसले राष्ट्रिय विकासमा बहुआयामिक गति प्रदान गर्ने इन्जिन साबित हुने विश्वास छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारले अगाडि बढाएको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारमा शिलान्यास गरेपछि पहाड–मधेसमा खुसी संस्थागत हुँदैछ ।

कुसुमटारका स्थानीय शिक्षक अरुणकुमार थिङले भने, “अब आयोजना निर्माण हुनेमा हामी ढुक्क भयौँ, अहिले यहाँको जीवनयापन असहज भए पनि भोलिका दिनमा सहज हुने विश्वास जागेको छ ।”

शिक्षक थिङको सुझाव छ, “आयोजनाबाट सिर्जना हुने अवसर, रोजगारी र आय आर्जनमा आयोजना प्रभावित र स्थानीयलाई विशेष प्राथमिकता दिनुपर्छ ।” कुसुमटारकै स्थानीय नवराज थिङले आयोजना निर्माणको काम अगाडि बढेपछि स्थानीय उत्साहित बनेका र राष्ट्रिय गौरवको आयोजना भएकाले समयमै सम्पन्न गर्नुपर्ने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्