Logo

संसदमा नाटकीय घटनाको सम्भावना, अविश्वासको प्रस्तावबारे के होला ?



काठमाडौ, २३ फागुन । आजबाट प्रतिनिधि सभा बैठक सुरु हुँदैछ । अपरान्ह ४ बजे बस्ने बैठकबारे आम चासो बढेको छ । सर्वोच्च अदालतले ११ फागुनमा संवैधानिक इजलाशबाट प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा फैसला सुनाएर १३ दिनभित्र बैठक डाक्न निर्देशन दिए बमोजिम आज बैठक डाकिएको हो ।

आजको बैठकमा विभाजित नेपाल कम्युनिस्ट पार्टीका सांसदहरु कुन स्थानमा बस्छन् भन्ने चासोको विषय बनेको छ । नेकपाभित्र सभामुखसहित १७४ प्रतिनिधि सभा सांसद रहेकोमा दुवै पक्षले आफूसँग ९० भन्दा बढी रहेको दाबी गरेका छन् । आजको बैठकमा सभामुखले उनीहरुको स्थान कसरी निक्र्यौल गर्नेछन् प्रतिक्षाको विषय छ ।

नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफूहरु संसदीय दलको नेता दाबी गर्दै आएका छन् । सभामुखले यसको टुंगो कसरी लगाउने हुन् ? चासो बढेको छ ।

प्रधानमन्त्री ओलीविरुद्ध नेकपाकै दाहाल-नेपाल समूहले प्रचण्डको नाम प्रधानमन्त्रीको प्रस्ताव गरेर अविश्वासको प्रस्ताव संसदमा दर्ता गरेको छ । दर्ता प्रस्तावबारे के हुन्छ चासोको विषय छ । उक्त प्रस्ताव अगाडि नबढाइने बुझिएको छ । तर, घटनाक्रम प्रचण्डको पक्षमा देखिए प्रस्ताव बढ्न सक्छ ।

प्रतिनिधि सभा बैठक शुरु भएलगत्तै फेरि अन्त गर्ने प्रधानमन्त्री ओलीको रणनीति पनि हुनसक्छ । यस्तो भएमा फेरि राजनीतिक टकराव बढ्नसक्छ । तर, यो बैठकले नेकपाको कानुनी विभाजनको पनि टुंगो लगाउन सक्छ ।

प्रतिनिधि सभा बैठकले अबको प्रधानमन्त्रीको टुंगो पनि लगाउनेछ । प्रधानमन्त्रीमा कम्तिमा ७ जना दाबेदार देखिएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएर तरंग ल्याइदिएका छन् ।

काँग्रेसभित्र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रधानमन्त्रीका दाबेदार हुन् । उनले विगतमा संसदीय दलको चुनावमा देउवालाई चुनौती दिई ६३ सांसदमध्येबाट २१ मत प्राप्त गरेका थिए । देउवाले त्यतिबेला ४२ मत पाए ।

जनता समाजवादी पार्टीतर्फ पनि सत्ताको सुई घुमेको छ । जसपाभित्र प्रधानमन्त्रीको दाबेदार तीनजना छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव मुख्य दाबेदार हुन् ।

नेकपाको कानुनी रुपमा विभाजित नभएकोले प्रधानमन्त्री ओली नै सत्तामा रहने सम्भावना पनि छ । उनीविरुद्धको अविश्वासको प्रस्ताव अगाडि बढ्ने या नयाँ प्रस्ताव आउन पनि कठिन देखिएको छ । दाहाल नेपाल समूहको काँग्रेस र जसपासँग सहमति बनिसकेको छैन ।

नेकपाभित्र दाहाल नेपाल समूह बलियो भई प्रचण्ड या माधवकुमार नेपालमध्ये एक प्रधानमन्त्रीका लागि अगाडि बढ्ने सम्भावना पनि बलियो छ । त्यसका लागि उनीहरुले काँग्रेस या जसपाको साथ लिनुपर्ने हुन्छ । काँग्रेसको साथ लिंदा अहिले नै आवश्यक संख्या पुग्छ । तर, जसपाको साथ लिने कम्तिमा एक सय सांसद साथमा हुनुपर्छ ।

 



प्रतिक्रिया दिनुहोस्