Logo

लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरण कार्यक्रम उद्‍घाटन



काठमाडौं, २३ फागुन । लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरणका लागि १ दिवसीय अभिमुखिकरण कार्यक्रम उद्‍घाटन भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको आयोजना तथा सेभ द चिल्ड्रेन र ग्लोबल फण्ड र रिकभरिङ नेपालको सहयोगमा होटल याक एण्ड यतिमा लागूऔषध प्रयोग तथा जोखिम न्यूनीकरणका लागि १ दिवसीय अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रमको सोही होटलमा आइतबार आयोजित कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीले उद्‍घाटन गरे ।

उद्‍घाटनका अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले लागूऔषध प्रयोगकर्ताले समाज, देश तथा स्वयंलाई नोक्सानी पुर्‍याएकोले यससँग सम्बन्धित संघ संस्था तथा पुनर्स्थापना केन्द्र र कानुन कार्यान्वयन गर्ने निकाय बिचमा सहकार्य र समन्वय हुनुपर्ने बताए । एचआइभि तथा यौन रोग नियन्त्रण केन्द्रका सिनियर पब्लिक हेल्थ अफिसर नन्दराज अवस्थी, गृह मन्त्रालय लागूऔषध नियन्त्रण शाखाका शाखा प्रमुख उपसचिव अर्जुन भण्डारी, सेभ द चिल्ड्रेन र ग्लोबल फण्डका डेपुटी चिफ अफ पार्टी राजन भट्टराई र रिकभरी नेपालका प्रमुख कार्यकारी अधिकृत विष्णु शर्मा फुँयालले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा अभिमुखिकरण कार्यक्रमका संयोजक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइँले कार्यक्रमबारे जानकारी गराएका थिए। साथै उपत्यका बाहिर ओएसटि सेन्टरहरू रहेका स्थानहरू मोरङ, पर्सा, चितवन, बुटवल, नेपालगञ्ज, पोखरा समेतमा फागुन २५ गते यस्तै कार्यक्रम सञ्चालन हुन गईरहेको प्रहरी नायव उपरीक्षक प्रसाइँले जानकारी दिए ।

आजै समापन हुने कार्यक्रममा लागूऔषध प्रयोगको अवस्था, प्रयोगको चरण, यसले पार्न सक्ने असर र लागूऔषध न्यूनीकरणका लागि प्रहरीको भूमिका तथा जोखिम न्यूनीकरणका लागि सञ्चालित ओएसटि केन्द्रसँगको प्रहरी समन्वय लगायतका बिषयमा लागूऔषध नियन्त्रण ब्यूरोबाट प्रस्तुतीकरण हुने कार्यक्रम रहेको छ । अभिमुखिकरण कार्यक्रममा महानगरीय प्रहरी परिसरहरू काठमाडौं, ललितपुर र भक्तपुरबाट १५ जना र लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट ५ जना गरी जम्मा २० प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्