Logo

तीन दिन काठमाडौं बसाईंमा विप्लवले क कस्लाई भेटे



काठमाडौं, २३ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक जीवनमा आएसँगै पार्टी संगठन निर्माणमा सक्रिय भएका छन् । उनी शान्ति सम्झौतामा सहभागी हुन २० फागुनमा काठमाडौं प्रवेश गरेकोमा आज नवलपरासीतर्फ प्रस्थान गरेका छन् ।

विप्लव भोलि पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न कपिलवस्तु पुग्नेछन् । यो उनको शान्ति सम्झौतापछि काठमाडौं बाहिर पहिलो सम्बोधन हुनेछ ।

दुई रात तीन दिनको बसाईंमा विप्लव काठमाडौंमा निकै व्यस्त भए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका थिए । शुक्रबार ओलीसँग भेटेका उनले गृहमन्त्री रामबहादुर थापा बादलसँग पनि छुट्टै भेटेका थिए ।

 

विप्लवले शुक्रबार नै वार्ता कमिटीमा आफ्नो दलका तर्फका खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र उदय चलाउने दिपकसँग छलफल गरेका थिए । त्यसपछि उनले पार्टीका नेता कार्यकर्तासँग भेटेका थिए ।

शनिबार पनि विप्लव व्यस्त भए । उनी नख्खु कारागारमा पुगेर आफ्नो पार्टीका नेता हेमन्तप्रकाश ओली सुदर्शनसँग भेटेका थिए । विप्लवले पार्टीका काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुसँग पनि भेटघाट गरेका थिए ।

विप्लवले आज नेकपा दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्य समेत रहेका पूर्व सभामुख कृष्णबहादुर महरासँग पनि भेटेका थिए ।


विप्लवले आइतबार विहान चार कम्युनिस्ट घटकको संयुक्त रणनैतिक मोर्चाका नेताहरुसँग पनि भेटेका थिए । भेटमा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, सीपी गजुरेल, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता आहुती सहभागी थिए ।

मोहन वैद्य किरण विप्लवका कुनैबेलाका राजनीतिक गुरु पनि हुन् । जनयुद्धकालमा किरणलाई वैचारिक धारका नेता मानिन्थ्यो । शान्तिपूर्ण राजनीतिक मूलधारमा आएपछि माओवादी विभाजन हुँदा विप्लव किरणको पक्षमा गएका थिए । पछि उनी किरणबाट फुटेर हिंसात्मक गतिविधिमा लागे ।



प्रतिक्रिया दिनुहोस्