Logo

एमालेको बैठक छिटो बोलाउँछुः प्रधानमन्त्री



काठमाडौं, फागुन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन् ।

सर्वोच्चको फैसलालगत्तै बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाअनुसार छिटै एमालेको बैठक बोलाइने जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परेमा आफूले विश्वासको मतसमेत लिएर देखाउने बताए ।केही दिनभित्रै एमाले दलको बैठक बसेर नया राजनीतिक कोर्सबारे उपयुक्त निर्णय लिइने ओलीले स्पष्ट पारे ।

सर्वोच्चको फैसलापश्चात् प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अदालतको फैसला आफूहरूले मान्ने र कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापश्चात् नेकपा ओली समूह खुसी देखिन्छ । तर, नेकपा दाहाल–नेपाल समूह अदालतको फैसलाले असन्तुष्ट देखिएको छ ।

नेकपा ओली समूहका स्थायी कमिटीका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले पार्टीहरूलाई पूर्ववत् अवस्थामा पु¥याएको बताएका छन् । फैसलाले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताका लागि ढोका खुलेको प्रतिक्रिया ज्ञवालीले दिएका छन् ।

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई ब्युत्याएर यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरेका छन् ।

यता नेकपा दाहाल–नेपाल समूहले सोमबार पछिल्लो राजनीतिबारे थप रणनीति बनाउन सोमबार स्थायी कमिटीको बैठक बोलाएको छ । सिंहदरबारमा दाहाल र नेपालले कानुन व्यवसायीसँग छलफल गर्दै अगामी रणनीतिबारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्