Logo

नागरिकताका लागि जनप्रतिनिधिको सहजीकरण



वाग्मती, २४ फागुन: मकवानपुरको विकट राक्सीराङ गाउँपालिकाका स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि सहजीकरण गर्न त्यस क्षेत्रका जनप्रतिनिधिले संयुक्तरुपमा आइतबार जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

जनप्रतिनिधिको सहजीकरणमा राक्सीराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले एकसाथ नागरिकता प्रमाणपत्र प्राप्त गरेका हुन् । खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन ती सबैलाई नागरिकता दिलाएका छन् । त्यस क्षेत्रका प्रदेशसभा सदस्य सन्तबहादुर प्रजा, गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र विभिन्न वडाका वडाध्यक्षसहित जनप्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा स्वयं पुगेर नागरिकता प्रमाणपत्र दिलाउनमा आवश्यक सहयोग र सहजीकरण गरेका थिए।

विकट गाउँबाट सदरमुकामसम्म आएर नागरिकता बनाउन एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै आफूहरुले नै सहजीकरण गरेर गाउँवासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । नागरिकता बनाउन बाँकी रहेकाको तथ्याङ्क सङ्कलन गरी आवश्यक कागजातसमेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँवासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए ।

प्रशासन परिसरमा बसेर वडाध्यक्षहरुले नागरिकताको सिफारिस दिएका थिए । गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए । नागरिकता लिने र सनाखत गर्न आउने करिब १२० भन्दा बढी स्थानीयवासीलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गरेका थिए । विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बाँस नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनभिज्ञतालगायत कारणले असहज भएपछि आफूहरुले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताए । नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उनको भनाइ छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्