Logo

‘भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन’



भजनी, २४ फागुन । कैलालीको टीकापुर नगरपालिका– १, गणेशपुर शिविरकी कल्पना चौधरीलाई महिला दिवसको जानकारी नै छैन । यस्ता दिवस कहिले आउँछन् ? कसले मनाउँछन् ? कहिले सकिन्छन् ? उनलाई यस्ता दिवसले कहिल्यै छोएको पनि छैन । शिविरको बास, पाँच जनाको परिवारको गुजाराका लागि उहाँ सात वर्षदेखि ‘इलेक्ट्रिक मेकानिक’को काम गर्दै आएका छन् । श्रीमान्बाट काम सिक्नुभएकी उहाँलाई यस्ता दिवसमा जाने फुर्सद पनि छैन । श्रीमान् र कल्पनासँगै काम गर्छन् ।

“अहिलेसम्म नारी दिवसको कार्यक्रममा एकपटक गएकी थिएँ । त्यसपछि कहिले नारी दिवस पर्छ ? त्यो पनि थाह छैन ।” उनले भने, “काम नगरी खान पुग्दैन । खानाका लागि काम गर्नैपर्छ । कार्यक्रममा जाने फर्सद पनि हुँदैन ।” उनले यस्ता कार्यक्रम तामझाम साथ गर्नुभन्दा पिछडिएका महिलाको जीवनस्तर उकास्नका लागि खर्च गर्नसके ठूलो मद्दत हुनसक्ने जनाउँदै वास्तविक समाजबाट प्रताडित महिलालाई यस्ता दिवस र कार्यक्रमले अझै छुन नसकेको बताए । “बरु, महिलालाई तालीम, सहुलियतमा ऋण उपलब्ध र उत्पीडनमा परेका महिलालाई न्याय दिने काममा महिला अगुवा लागे राम्रो होला”, उनले भने, “तामझामका साथ हुने कार्यक्रम, बोल्ने भाषणले महिला दिवसको सान्दर्भिकता झल्काउन सक्दैन ।”

टीकापुर – १, एकतानगर शिविरकी सीता विक एक होटलमा काम गर्दै आएका छिन् । उनलाई महिला दिवस के हो ? त्यो पनि थाह छैन । दिनभर कमाएको पैसाले घर परिवार पाल्नुपर्ने उनको बाध्यता छ । उनको पीडा अहिलेसम्मका महिला दिवसले मेटाउन सकेको छैन । उनी मासिक पाँच हजारका लागि दिनभर भाँडा माँझ्नुपर्ने बाध्यता रहेको बताउछन् । “महिला दिवस भनेर नाम सुनेकी छुँ । त्यसको वास्तविकता बुझेकी छैन”, उनले भने, “हामीलाई बुझेर पनि काम छैन । काम नगरी खान पुगेकालाई नारी दिवसले छोएको होला ।” उनले सरकारले नारी दिवस मनाइरहँदा पीडामा रहेका नारीको उद्धार नहुने भन्दै त्यसका लागि पीडित नारी लक्षित कार्यक्रम ल्याउनसके घाउमा मल्हम लगाएको महसुस गर्न सकिने बताए ।

शक्तिनगर शिविरको रामकुमारी डगौराको अवस्था पनि उस्तै छ । उनलाई नारी दिवसका बारेमा थाहै छैन । सात वर्षको उमेरमा अरुको घरमा काम गर्न थालेका उनी अहिले टीकापुरमा खाजा पसल सञ्चालन गर्दै आएका छन् । बिहानको समयमा स्थानीय पत्रिका वितरणको काम पनि उनले गर्दै आएका छन् छ । पहिलाको ज्याला मजदूरी र पत्रिका वितरणबाट आएको पैसा लगानी गरेर खाजा पसल सञ्चालन गरेको उनी बताउछन् । “हुने खानेका लागि दिवस, सभासमारोह हुन्छन् होला । हाम्रा लागि त यही काम प्यारो छ ।” रामकुमारीले भने, “नत हामीलाई कसैले यस्ता अवसरमा खबर गर्छन्, नत कोही सान्त्वना दिन नै आउछन् । आफ्नो काम नगरी खान पुग्दैन ।” सानै उमेरमा अर्काको घरमा काम गर्नुको पीडा र दैनिक मजदूरी गरेर घर चलाउनेको पीडामा नारी दिवसले कुनै फरक नपार्ने उहाँको भनाइ रहेको छ । उनले दिनभर आदर्शका कुरा गर्नेले नै श्रम शोषणको काम गर्दै आएको जनाउँदै उत्पीडित नारीको उत्पीडनका पक्षमा बोल्ने धेरै र काम गर्ने कोही नभएको बताए ।

कल्पना, सीता र रामकुमारी यसका सानो उदाहरण मात्र हुन् । वास्तविक उत्पीडनमा परेका नारीलाई महिला दिवसले छुन नसकेका थुप्रै उदाहरण छन् । सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले आज १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा थुप्रै कार्यक्रम आयोजना गरिएका छन् । केही सामाजिक अगुवा भने कार्यक्रम गर्नु नराम्रो नभएको भए पनि वास्तविक उत्पीडनमा परेका नारीका पक्षमा रहेर नारी दिवस मनाउँदा त्यसको परिणाम सकारात्मक आउने पक्षमा देखिन्छन् । रासस



प्रतिक्रिया दिनुहोस्