Logo

भारोत्तोलनमा भविष्य खोज्दै किशोरीहरु



सप्तरी, २४ फागुन । उमेरले १२ वर्ष मात्र पुगेकी छिन्, अम्बिकाकुमारी यादव । कक्षा ५ मा अध्ययनरत सप्तरीको राजविराज नगरपालिका–६ की उहाँ भारोत्तोलन खेलको अभ्यासमा छ महीनादेखि निरन्तर अभ्यासरत छिन् । राष्ट्रियस्तरको पदक प्राप्त गर्ने र भविष्यमा सेना बन्ने सपना बुनेकी उनी बिहान ८ बजेदेखि ११ बजेसम्म फलामको गह्रौँ भारी उचाल्ने कठोर अभ्यास गर्छिन् । उनको पदक प्राप्त गर्ने परीक्षा नजिकिएको छ । कोभिड–१९ को महामारीपछि पहिलो पटक राष्ट्रियस्तरको भारोत्तोलन प्रतियोगिता राजविराजमा हुँदै छ ।

यही फागुन २९ र आगामी चैत १ गते आयोजना हुने ‘देवसुन्दर यादव स्मृति प्रथम राष्ट्रिय भारोत्तोलन’ प्रतियोगितामा ४० किलो तौल समूहमा उनी प्रतिस्पर्धा गर्दैछिन् । भारोत्तोलन प्रशिक्षक पुन्तीलाल यादवका अनुसार सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाउने अम्बिकाले पदक प्राप्त गर्ने निश्चित छ । हजुरबुवा दुर्गानन्द यादवको प्रेरणाले खेल क्षेत्रमा होमिएकी उहाँको एउटै लक्ष्य छ सेना बनेर सेवा गर्ने । खेल क्षेत्रमा राम्रो गरे सेनामा सहज प्रवेश पाउने विश्वास बोकेकी उनी भन्छन्, “देशको सेवासँगै सेनामा प्रवेश पाए आफ्नो खेल क्षमता पनि विकास हुनेछ”, आफ्नो सपना र लक्ष्य भनिरहँदा उनका आँखाभरी रहर र सपना भाव प्रष्ट झल्किन्थ्यो ।

भारोत्तोलनमा भविष्य सपार्ने सपना बुन्दै तीन वर्षदेखि कडा परिश्रम गरिरहेकी अर्की किशोरी हुन् विष्णुपुर गाउँपालिका–४ की १६ वर्षीया पूजाकुमारी मण्डल । कक्षा १० मा अध्ययनरत उनले प्रदेशस्तरमा स्वर्ण पदक प्राप्त गरी नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । यसपटक उनले राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्णपदकको आशा गर्दै ४९ किलो तौल समूहमा प्रतिस्पर्धा गरिरहेका छन् ।

विष्णुपुर गाउँपालिका–१ खुरहुयिाकी १५ वर्षीया सरिता यादव सबैभन्दा जोशिली खेलाडी हुन् । एघार वर्षको उमेरदेखि खेल्न शुरु गरेकी उनले प्रदेश २ स्तरको प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेकी थिइन् । उमेरले कलिलै भए पनि राष्ट्रिय र प्रदेशस्तरीय प्रतियोगितामा दुई÷दुई पटक सहभागिता जनाएर अनुभव बटुलेकी उहाँ पदकको आकाङ्क्षा राख्दै साइकलबाट छ किलोमिटरको दूरी तय गरी नियमित अभ्यासमा आउछन् ।

पाइलैपिच्छे विभिन्न चुनौती र अभावको सामना गर्दै अगाडि बढिरहेकी खेलाडी हुन विष्णुपुर गाउँपालिका–३ मुसहरनियाकी १८ वर्षीया काजल सदा । अभावग्रस्त दैनिकीका बाबजुद भारोत्तोलनमा भविष्य खोज्दै अगाडि बढेकी उनले प्रदेश २ स्तरमा स्वर्ण पदक र नेपालगञ्जमा २०७५ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा कास्यपदक पाएकी थिइन् । उक्त सफलताले पाएको हौसलाका साथ अभ्यासमा तल्लिन उनले राजविराजमा हुन गइरहेको राष्ट्रिय्स्तरको प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने र पदक ल्याउने विश्वास व्यक्त गरे ।

उनलाई नै आफ्नो प्रेरणाको स्रोत बताउने सोही गाउँकी १७ वर्षीया किरणकुमारी सदा पनि तीन महीनादेखि भारोत्तोलन खेलको अभ्यासमा हुनुहुन्छ । किरणले भने, “एकदिन मैले काजलले भारोत्तोलन उचालेको देखेर बडो रोमाञ्चक लाग्यो । पुरस्कृत भएर गाउँ आएपछि उहाँसँग समाजको सकारात्मक व्यवहार देखेर मलाई पनि त्यसै गरी खेल्ने इच्छा जाग्यो ।”

परिवारले भरपुर साथ दिएपछि विष्णुपुर गाउँपालिका–५ कट्टीकी १९ वर्षीया ज्योतिकुमारी मण्डल पनि दुई महीनादेखि अभ्यास गरिरहेको छ । उनका बुबाआमाले आफन्तका अगाडि उनलाई चिनाउँदा ‘मेरो छोरा हो यो’ भन्दै पिँठ्यू थपथपाउँछन् । तीन दिदीबहिनीमा माइली ज्योतिले दाजुभाई नभए पनि बुवाआमाबाट छोरासरहको भरोसा र व्यवहारले उहाँलाई अगाडि बढ्न प्रेरणा मिलेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot