Logo

माधव नेपालले राजनीतिक सुनामी ल्याउने



काठमाडौं, २४ फागुन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अप्ठ्यारोमै अवसर पाउने नेतामा पर्छन् । उनले पहिलो संविधानसभा चुनावमा काठमाडौं र रौतहटबाट चुनाव हारे । उनलाई ठुलो राजनीतिक झड्का लाग्यो । त्यतिबेला नेपाल निकै चिन्तामा परे । तर, त्यही झड्काले उनलाई अवसरको ढोका खोल्यो ।

माधव नेपालका अगाडि प्रधानमन्त्रीको अवसर आयो । उनलाई तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीको प्रस्ताव गरे । नेपालकै भनाई अनुसार उनले प्रधानमन्त्री बन्दिनँ भन्दा भन्दै कोइरालाले निकै करकाप गरेका थिए । दुई ठाउँबाट चुनाव हारेको व्यक्ति प्रधानमन्त्री बनेको भनेर नेपालको अहिले पनि आलोचना हुने गरेको छ ।

उक्त घटनाको नजिरका कारण २०७२ सालको संविधानमा प्रतिनिधि सभाको निर्वाचनमा पराजित उम्मेदवार उक्त कार्यकालको प्रतिनिधि सभाबाट प्रधानमन्त्री त के मन्त्री समेत बन्न नपाउने व्यवस्था गरियो ।

अहलिे माधव नेपाल ओलीसँग गर या मरको राजनीतिक लडाईंमा हुँदा अदालतको फैसलाले अप्ठ्यारोमा छन् । उनले एमाले छाडे राजनीतिक दलसम्बन्धी ऐनले सांसद पद स्वतः रद्द हुने अवस्था आउँछ । अब उनी कि त ओलीसँग जोडिनुपर्छ कि त विद्रोह गर्नुपर्छ ।

नेपालले ओलीसँग विद्रोह गर्न अहिलेको राजनीतिक दलसम्बन्धी ऐन अनुसार केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनुपर्छ । केन्द्रीय समितिमा ४० प्रतिशत रहेपनि संसदीय दलमा त्योभन्दा कम छ । अहिले नेकपा एमालेको १२१ सांसदमध्ये माधव नेपाल समूहमा ४० जना छन् । उनलाई ४० प्रतिशत पुर्याउन ८ सांसद आवश्यक पर्छ ।

अब माधव नेपाल गर या मरको अवस्थामा रहेकाले उनले ओलीसँग हात मिलाउनेभन्दा विद्रोह गर्ने सम्भावना बढेको छ । विश्वस्त स्रोतका अनुसार नेपालले राजनीतिक सुनामी नै ल्याउने गरी कदम चाल्ने सम्भावना छ । त्यसका लागि उनले परामर्श थालेका छन् ।

नेकपा एमालेमा लामो समय महासचिव रहेका नेपालका लागि विद्रोह सहज पक्कै छैन । तर, ओलीसँग लामो समययता संघर्ष गर्दै आएका उनी अब बरु सुनामी ल्याउने तर नझुक्ने अवस्थामा पुगेका छन् । उनले छिट्टै कठोर कदम चाल्ने तयारी गरेका छन् ।

एमाले फुटाएर प्रधानमन्त्री बन्ने रणनीतिमा माधव नेपाल

नेपाल समूहको बैठक सम्पन्न, प्रधानमन्त्रीबाट ओलीलाई जसरी पनि विस्थापित गर्ने निश्कर्ष



प्रतिक्रिया दिनुहोस्