Logo

कोमल वली रघु पन्तविरुद्ध भोलि अदालत जाने



काठमाडौं, २४ फागुन । सांसद कोमल वली नेकपा एमालेका स्थायी कमिटी सदस्य रघुजी पन्तविरुद्ध भोलि अदालत जाने भएका छन् । पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्न उनी अदालत जाने भएकी हुन् ।

वली निकट स्रोतका अनुसार उनी भोलि ११ बजे अदालतमा गई मुद्दा दायर गर्ने भएकी छिन् । पन्तले वलीको नामै तोकेर अपमानजजनक अभिव्यक्ति दिएपछि अदालत जान लागेकी हुन् ।

पन्तले कोमल वली पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि चर्को आलोचना भएको थियो । उनले सामाजिक सञ्जालमा पन्तको नामै तोकेर लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ ।’

पन्तले सार्वजनिक रुपमै भनेका थिए,‘कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाएर पोइला जान पाम भनेपछि सांसद त तिनै भइन् ।’ पन्तले सार्वजनिक रुपमा माफी मागेका थिए । उनले कोमल वलीलाई फोन सम्पर्क गरी ‘धेरै गाली नखुवाऊ’ भनेका थिए ।

नेकपा एमालेभित्र कोमल वली प्रधानमन्त्री केपी शर्मा ओली निकट छिन् । पन्त माधव नेपालका विश्वासपात्र हुन् ।



प्रतिक्रिया दिनुहोस्