Logo

संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्नेमा जनमतसंग्रहमा जानुपर्छः विप्लव (भिडियोसहित)



काठमाडौं, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले देशमा जनमतसंग्रह हुनुपर्ने बताएका छन् । उनले आज कपिलवस्तुमा आफ्नो दलनिकट अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्ने बताएका हुन् ।

‘जनमतसंग्रहबाट जनतालाई व्यवस्था चुन्ने अवसर दिनुपर्छ,’ विप्लवले भने,‘संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी ठिक भन्नेमा जनमतसंग्रह गर्नुपर्छ ।’ उनले अब मान्छेका लागि नभई व्यवस्था चुन्ने अवसर जनतालाई दिनुपर्ने बताए ।

आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनमतसंग्रहको कुरा राख्दा सकारात्मक जवाफ आएको बताए । जनमतसंग्रहबाट कोही आत्तिनुनपर्ने बताए । उनले भने,‘वैज्ञानिक समाजवाद भनेपछि काँग्रेस र सरकार किन आत्तिनुपरेको ?’

जनमतसंग्रहले देशलाई शान्तिपूर्ण रुपमा नयाँ ढंगले अगाडि बढाउने धरातल बनाउने बताए । उनले शान्ति सम्झौतालाई अग्रगामी सहमति भने । विप्लवले भने,‘यो भयंकर सम्झौता होइन । अग्रगामी सहमति हो ।’ शान्ति स्थिरता र परिवर्तनका लागि सहमति गरेको उनको भनाई थियो ।

विप्लवले नेपाली सेना र नेपाल प्रहरीको खुलेर प्रशंशा गरे । उनले सेना र प्रहरीविरुद्ध नभई व्यवस्था र गलत प्रवृत्तिविरुद्ध लडेको बताए ।



प्रतिक्रिया दिनुहोस्