Logo

सुनकोशी–मरिन डाइभर्सन आयोजनाः चाइना ओभरसिजलाई यसै साता एलओए पठाइने



काठमाडौं, फागुन २५। सरकारले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि छनोट भएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई यसै साता लेटर अफ असेप्टेन्स (एलओए) पठाउने भएको छ । ठेक्का सम्झौताको आह्वान गर्दै सिँचाइ विभागले उक्त कम्पनीलाई (एलओए) पठाउन लागेको हो ।

उक्त ठेक्काका लागि चीनकै सान्सी र सिनो हाइड्रोसहित तीनओटा कम्पनी अन्तिम प्रतिस्पर्धामा थिए । त्यसमा विभागले केही दिन अगाडि चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई छनोट गरेर लेटर अफ इन्टेन्ट (एलओआई) अर्थात् सैद्धान्तिक स्वीकृति दिएको थियो । साथै, अन्य कम्पनीलाई पनि यस सम्बन्धमा जानकारी दिएको थियो । त्यसपछि यसमा कतैबाट दाबी विरोध नआएपछि कम्पनीलाई ठेक्का सम्झौताका लागि एलओए दिन लागिएको हो ।

विभागका उपमहानिर्देशक कृष्णप्रसाद नेपालले अबको १र२ दिनमै उक्त कम्पनीलाई एलओए पठाउने जानकारी दिए । त्यसपछि कम्पनीसँग आयोजनाको सुरुङ खन्न ठेक्का सम्झौता हुने उनले बताए ।

उक्त आयोजनाअन्तर्गत सिन्धुलीको खुर्कोटमा रहको सुनकोशी नदीमा हेडवक्र्स बनाएर १३ दशमलव २ किलोमीटर लामो सुरुङबाट उक्त नदीको पानी सिन्धुलीकै कमलामाई नगरपालिकामा रहेको मरिन नदीको किनारमा पुर्‍याउने योजना छ । सोही सुरुङ निर्माण गर्न उक्त कम्पनीलाई छनोट गरिएको हो ।

सरकारले उक्त सुरुङ निर्माणका लागि १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, उक्त कम्पनीले १० अर्ब ५ करोड रुपैयाँमा सुरुङ खन्ने भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्