Logo

‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू



काठमाडौं, फागुन २५ । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यसहित नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू गरेको छ । सोमवार उक्त अभियानको शुभारम्भ तथा लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित राष्ट्रका रूपमा अघि बढाउने दिशामा यो महत्त्वपूर्ण कदम भएको बताएका छन् ।

सरकारले शुरू गर्नुपर्ने अभियान निजीक्षेत्रबाट भएको र यसलाई सरकारले आफ्नै अभियानका रूपमा लिएको उनको भनाइ छ । समृद्ध राष्ट्र निर्माणमा नयाँ अठोटका रूपमा आएको यस अभियानले औद्योगिकीकरण, रोजगारी सृजना र आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको अपेक्षा रहेको छ ।

स्वदेशी उत्पादनको वृद्धि, स्वदेशमै प्रयोग, ब्रान्ड तथा गुणस्तर प्रवर्द्धन र प्रतिस्पर्धी बनाउने दिशामा अभियान केन्द्रित हुनुपर्ने उनको भनाइ छ । ‘औद्योगिक क्षेत्रमा भन्दा कृषिक्षेत्रमा बढी रोजगारी छ, तर त्यहाँ उद्योग छैनन्,’ उनले भने, ‘कृषिमा आधारित उद्योग र त्यसका सहायक उत्पादनहरू नभएकाले त्यस दिशामा पनि ध्यान दिनुपर्छ ।’ आयातलाई सरकारले प्रोत्साहन नगर्ने भन्दै उनले कच्चा पदार्थ र अत्यावश्यक वस्तुबाहेक अन्य वस्तु आयातलाई प्रतिस्थापन गर्नेतर्पm नेपालको औद्योगिक क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकार निजीक्षेत्रबीच मित्रवत् सहकार्य भएमा उद्योग क्षेत्र, रोजगारी सृजना, शीप सिकाइलगायत सहुलियतका विषयमा हुने समस्या समाधानमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा परिसंघका अध्यक्ष सतीशकुमार मोरले यस अभियानले स्वदेशी उत्पादन वृद्धि, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता प्रवर्द्धन गर्ने र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्य राखेको बताए । परिसंघले हरेक वर्ष १ हजार उद्योग सञ्चालनमा ल्याउने र वार्षिक रूपमा १ लाख ५० हजारलाई रोजगारी दिने लक्ष्य राखेर यो अभियान शुरू गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्