Logo

३६ प्रतिशतले बढ्यो चल्लाको मूल्य



काठमाडौं, फागुन २५ । उत्पादन घटेसँगै कुखुराका चल्लाको मूल्य ३६ प्रतिशतले बढेको छ । प्यारेन्ट चल्ला (माउ कुखुराका चल्ला) को अभावका कारण चल्ला उत्पादन घट्न पुगेको हो । लामो समयसम्म भएको बन्दाबन्दीका कारण ह्याचरी व्यवसायीले प्यारेन्ट चल्ला आयात गर्न नसक्दा अभाव भएको बताइएको छ ।

ह्याचरी उद्योग संघले दिएको जानकारी अनुसार करीब १ महीना अघिसम्म प्रतिचल्ला ७० रुपैयाँ पर्ने ब्रोइलर चल्लाको मूल्यमा करीब ३६ प्रतिशतले वृद्धि हुँदै आजभोलि ९५ रुपैयाँसम्म पर्न थालेको छ । त्यसैगरी प्रतिचल्ला १ सय ४० रुपैयाँ पर्ने लेयर्स चल्लाको मूल्यमा पनि २२ प्रतिशतले वृद्धि हुँदै १ सय ७० रुपैयाँ पुगेको छ ।

संघका अध्यक्ष टीकाराम पोखरेलले नेपालमा प्रतिहप्ता ४२ देखि ४५ लाख चल्लाको माग भए पनि प्यारेन्टको अभावका कारण यतिबेला प्रतिहप्ता २८ लाख चल्लाको मात्र उत्पादन भइरहेको आर्थिक अभियान दैनिकलाई बताए । बजारमा चल्लाको माग अत्यधिक भए पनि उत्पादन गर्न नसकिएकाले माग पूरा गर्न निकै गाह्रो भएको उनले जानकारी दिए । ‘बन्दाबन्दीका समयमा चल्ला विक्री नहुँदा गाड्नुपर्ने स्थिति आयो अब अहिले माग धान्नै गाह्रो छ,’ उनले भने ।

ह्याचरी उद्योगहरूले केही साताअघि मात्रै थाइल्यान्डबाट माउ चल्ला आयात गरी त्यसलाई अण्डा उत्पादनका लागि पालेका छन् । यद्यपि अहिले पालिएका माउ चल्लाले अण्डा दिन आउँदो असोज, कात्तिक महीनासम्म कुर्नुपर्ने हुन्छ । त्यति बेलासम्म चल्लाको उत्पादन नबढ्ने भएकाले यसको हालको मूल्यमा अझै १० रुपैयाँसम्म बढ्न सक्ने बताइएको छ ।

अहिले ब्रोइलर चल्लाको लागत मूल्य प्रतिचल्ला ५६ रुपैयाँ पर्ने गरेको छ भने लेयर्स चल्लाको लागत मूल्य प्रतिचल्ला १ सय १० रुपैयाँ पर्ने गरेको छ । संघका अनुसार बन्दाबन्दीको समयमा चल्ला विक्री नहुँदा उद्योगहरूले ६ महीनासम्म प्रतिहप्ता ४२ लाख चल्ला गाड्नु परेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्