Logo

संकटमा अल्लो उद्योग



रुकुमपूर्व, फागुन २५ । यहाँका विभिन्न ठाउँमा स्थानीयवासीले सञ्चालन गरिरहेका अल्लो उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । अल्लोबाट उत्पादित विभिन्न सामग्रीले बजार नपाएपछि उद्योग सञ्चालनमा कठिनाइ भएको हो । अल्लो प्रशोधन र त्यसबाट बनाइने सामग्रीबारे शीप प्राप्त गरेर अल्लो उद्योग सञ्चालन गरे पनि उत्पादित सामग्री विक्री नहुँदा आम्दानी शून्य भएपछि उद्यमी समस्यामा परेका छन् ।

यहाँका तीनओटै स्थानीय तहमै प्रशस्तमात्रामा अल्लोको कच्चा पदार्थ पाइने गरेको छ । उत्पादित सामग्रीले परिश्रमअनुसारको बजार र मूल्य नपाउँदा अल्लो उद्योग सञ्चालनमा समस्या भएको पुथाउत्तरगंगा गाउँपालिका वडा नं १४ जामाबगरस्थित सिर्जनशील अल्लो उद्योग सञ्चालक गौसरी पुनले बताइन् ।

‘जामाबगरमा ६ वर्षदेखि अल्लो उद्योग स्थापना गरी उद्योग सञ्चालन गर्दै आए पनि सामग्रीले बजार र परिश्रमअनुसारको मूल्य नपाउँदा घाटा बेहोर्नुपर्ने अवस्था छ,’ उनले भनिन् ।

अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्नेजस्ता प्रक्रियाबाट सामग्री बनाउनुपर्ने अवस्थामा गाउँमा बजार र श्रमअनुसारको आम्दानी नहुँदा रुकुमकोट र सदरमुकाम खलंगासम्म पु¥याउँदा झनै लागत बढेको उनले बताइन् । अल्लोबाट तयार पारिने सामग्रीबाट पारिश्रमिकसमेत नउठेपछि उत्पादनमा कमीका साथै सञ्चालनमा रहेका उद्योगसमेत संकटमा परिरहेको उद्योग सञ्चालक बताउँछन् ।

भौगोलिक विकटताका बीच ग्रामीण क्षेत्रका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, टोपी, बर्की, कोटलगायत सामग्री निर्माण गरे पनि गाउँमा बजार नभएपछि व्यवसाय संकटमा पर्ने अवस्था आएको उनीहरूको गुनासो रहेको आजको आर्थिक अभियानले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्