Logo

अन्ततः एमाले एकजुटः नेपाल–खनाल एमालेमै फर्किए



काठमाडौं, फागुन २५ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन् । सर्वोच्चले आइतबार ऋषि कट्टेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो ।

सर्वोच्चको फैसलाअनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन् ।

नेपाल, खनाललगायतका दाहाल नेपाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन् । उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत नै राजनीतिक गतिविधि अघि बढाउने निर्णय गरेका छन् ।

दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने बिच्छेद भएको छ । दाहाल एकता अघि माओवादी केन्द्रको अध्यक्ष थिए भने फेरि अहिले पनि माओवादी केन्द्र पूर्ववत् अवस्थामा नै रहेकाले दाहाल स्वतहः सो पार्टीको अध्यक्ष हुनेछन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सोमबार बसेको अन्तिम बैठकले सर्वोच्च अदालतको निर्णयअनुसार छुट्टाछुटै भएर अघि बढ्ने निष्कर्ष निकालेपछि उनीहरू आआफ्नै पुरानो पार्टीमा फर्किएका हुन् । उनीहरू आइतबार नेकपाको अन्तिम बैठक भन्दै बसेका थिए ।

सर्वोच्च अदालतले आइतबार ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरेको थियो । सोमबार बसेको दाहाल नेपाल समूहको नेकपा स्थायी कमिटी बैठकले अदालतको निर्णय कार्यान्वयन गर्ने भन्दै पार्टी एकताका लागि पुनः पुरानै पार्टीबाट सक्रिय हुने निष्कर्ष निकालेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्