काठमाडौं, २५ फागुन । प्रतिनिधि सभा ब्युँतिएपछि नेकपा एमाले र माओवादी केन्द्रबाट गुट परिवर्तन गरेकाहरुको भविष्यबारे आम चासो छ । यसअघि प्रचण्ड नेपाल समूहमा रहेका नेकपा एमालेबाट निर्वाचितहरु अहिले आयोगको निर्णय बमोजिम अलग भई एमालेमै जाने भइसकेका छन् । उनीहरुबारे निर्णित भइसकेको छ । तर, माओवादी केन्द्रबाट निर्वाचित भई ओली समूहमा गएकाहरु दलमै फर्कने या नफर्कने निश्चित भइसकेको छैन ।
माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित भएका रामबहादुर थापा बादल ओली सरकारमा गृहमन्त्री छन् । उनी माओवादी केन्द्रमा नफर्किए कारबाहीमा पर्न सक्छन् र सांसद पद नै जान सक्छ ।
प्रतिनिधि सभामा माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी ओली सरकारका मन्त्री छन् । रायमाझी अर्घाखाँची, साह रौतहट र चौधरी कैलालीबाट निर्वाचित सांसद हुन् । अब उनीहरु माओवादी केन्द्रमा नफर्किए पार्टी परिवर्तन गरेको मानिनेछ । राजनीतिक दलसम्बन्धी ऐनले निर्वाचित सांसद, प्रदेशसभा सांसद या स्थानीय निकायका जनप्रतिनिधिले दल त्याग गरेर स्वतः पद खारेज हुनसक्छ ।
अब चारजना मन्त्रीले तत्काल माओवादी केन्द्रमा नफर्किए संसदीय दलका नेता प्रचण्डले सांसद पद नै खारेज हुने गरी निवेदन दिन सक्छन् । उनीहरु कारबाहीमा परेर सांसद पद खाली हुनसक्छ । यसरी माओवादी केन्द्रका तीनजना प्रतिनिधि सभा र एकजना राष्ट्रिय सभा सांसदको पद धरापमा परेको छ ।
खानेपानी मन्त्री मणि थापा माओवादी केन्द्रमा हुँदा स्थायी कमिटीमा थिए । उनी निर्वाचित जनप्रतिनिधि नभएकाले ढुक्क छन् । बाँकी चारजनाको पद धरापमा परेको छ ।




प्रतिक्रिया