Logo

गिनी बिस्फोटमा मारिनेको संख्या ९८ पुग्यो, ६१५ घाइते



याउन्डे, २५ फागुन :अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् ।

गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना घाइते भएका छन् ।मन्त्रालयले घाइतेमध्ये ३१६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने २९९ जना अस्पतालमा उपचार गराइरहेको जनाएको छ ।

बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको बिस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो । किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो ।

घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए । बाटामा रहेको चिनियाँ स्वास्थ्य टोलीले घाइतेको उद्धारमा सहयोग गर्नुका साथै चिकित्सा उपकरण स्थानीय अस्पताललाई उपलब्ध गराएको थियो ।

बिस्फोट स्थलको आगो सोमबार अपराह्नसम्ममा नियन्त्रणमा ल्याइएको थियो । गिनीको बाटा शहर सबैभन्दा बढी मानिसको बसोबास रहेको स्थान हो ।–सिन्ह्वा/File Photo



प्रतिक्रिया दिनुहोस्