Logo

आगलागीबाट एक करोड क्षति



सुदूरपश्चिम, २५ फागुन: कैलालीको गोदावरी नगरपालिका—५ गेटा गाउँमा सञ्चालित केएस कन्सट्रक्शनमा भएको आगलागीबाट झण्डै रु एक करोड बराबरको मालसामान जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले उक्त कन्सट्रक्शनमा आज बिहान भएको आगलागीबाट टायर, ट्युब, मोबिल जस्ता यातायातका साधनमा प्रयोग गरिने मालसामान जलेर नष्ट भएको बताउनुभयो । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलको सहायतामा, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

स्थानीयवासी खडकसिंह पालले सञ्चालन गर्दै आएको उक्त कन्सट्रक्शनमा विद्युत् लाइन सर्ट (चुहावट) भई आगलागी भएको अनुमान गरिएको छ । यसअघि गत शनिबार धनगढीको चटकपुरमा रहेको एक फर्निचर उद्योगमा पनि आगलागी हुँदा करोडभन्दा बढीको क्षति पुगेको थियो ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्