Logo

रहेनन् कांग्रेस म्याग्दीका पूर्वसभापति डा. खड्का



गलेश्वर, २५ फागुन: नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा भूपेन्द्रबहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गमचोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

अकस्मात् बिरामी परेपछि उनलाई आइतबार हेलिकप्टरबाट काठमाडौँ लगिएको कांग्रेस म्याग्दीले जनाएको छ । उनी गत शुक्रबार र शनिबार बेनीमा भएका विभिन्न कार्यक्रममा सहभागी समेत भएका थिए । उनी मुटुसम्बन्धी रोगको औषधि सेवन गर्दथ्ये ।

कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठका अनुसार खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिए । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिको पूर्वअध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटीको पूर्वसभापति समेत रहेका उनी जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात थिए । बेनीको प्रकाश माविका शिक्षकमा समेत कार्यरत उनका एक छोरा र एक छोरी छन् । खड्की श्रीमतीको २०६१ सालमा निधन भएको थियो । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका खड्का स्वाभिमानी र निष्ठावान् नेताका रुपमा जिल्लामा सुपरिचित थिए ।

पूर्व सभापति खड्काको निधनप्रति कांग्रेसका नेता कार्यकर्ताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उहाँको आज नै काठमाडौँस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने कांग्रेस म्याग्दीका नेताहरुले बताएका छन् ।-रासस



प्रतिक्रिया दिनुहोस्