Logo

विविधता संरक्षणमा सञ्चारमाध्यम महत्वपूर्ण



बलेवा, २५ फागुन : ढोरपाटन शिकार आरक्षले जैविक विविधता संरक्षणमा सञ्चारमाध्यमको भूमिकाको खोजी गरेको छ । आरक्षका क्रियाकलाप, संरक्षणका प्रयास र आरक्षले राज्यको विकास तथा पर्यटनमा पु¥याएको प्रभावको खोजी गर्नुपर्ने बेला भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।

आरक्ष कार्यालयले बागलुङ बजारमा आयोजना गरेको अन्तरक्रियामा प्राणी र वनस्पतिको संरक्षणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उनले जानकारी गराए । जैविक विविधतालाई आफूले उपयोग गरेर सन्ततिलाई पनि जस्ताको त्यस्तै हस्तान्तरण गर्ने अभ्यासका लागि सञ्चारमाध्यमले आम उपभोक्तालाई सन्देश दिनुपर्ने उनले बताए । “अहिले प्रयोग गरेर सक्ने प्रयास गर्दा दोहन हुने गर्छ, तर हामीले दिगो व्यवस्थापन र उपयोग खोजेका छौँ”, कँडेलले भने, “राज्यले थालेको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्छ ।”

आरक्षले मध्यवर्ती क्षेत्र घोषणाको तयारी गरेको, सुरक्षाको व्यवस्थापन बढाएको, चोरी शिकारलाई रोकेर महत्वपूर्ण जन्तु र वनस्पतिको संरक्षण गर्ने योजना पनि उनले सुनाए । संरक्षणका लागि संस्थागत संरचना निर्माण, समुदायको सहभागिता, समन्वय, प्रविधिको उपयोग, कानूनको पालना र क्षमता विकासका ढाँचाहरु प्रयोगमा ल्याएको भन्दै कँडेलले आरक्षणको अवस्थाबारे प्रस्तुतीकरण गरेका थिए ।

उक्त अवसरमा पत्रकारहरुले आरक्षको संरक्षण, शिकारका प्रकृति, स्थानीयवासीको विकास ढाँचालगायत विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा रेन्जर दीपेन्द्र पोखरेल, सुदीपराज अधिकारीले संरक्षणको प्रयास र अहिलेसम्मका उपलब्धिबारे जानकारी गराएका थिए ।

पर्यटकीय क्षेत्रको विकास र पूर्वाधार निर्माणमा पहल बढाउनुपर्ने उनीहरुको धारणा थियो । शिकार आरक्षणमा शिकारीबाहेक वर्षेनि धेरै पर्यटकसमेत पुग्छन् । उनीहरुका लागि सुविधा सम्पन्न होटेल बनाउने विषयमा पनि राज्यको ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता सहभागीले औँल्याएका थिए ।

आरक्षण कार्यालयका अनुसार यहाँ चरण क्षेत्र ४४४, वन क्षेत्र ४२६, कृषि क्षेत्रमा २६, वनस्पतिका लागि ४२६ वर्ग किमी छ । आरक्षमा नाउर र झारल शिकार गर्न पाइन्छ । नेपाल सरकारलाई राजश्व तिरेर गरिने शिकारका लागि विदेशी शिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १६४ प्रकारका पक्षीहरु संरक्षित छन् । यहाँ छेन्टुङ गुम्बा, उत्तरगङ्गा, गुर्जाखानी, रुद्रताललगायत धेरै पर्यटकीय क्षेत्र पनि छन् । आरक्षको एक मुख्य कार्यालयसहितका पोष्टमा ७२ जना कर्मचारी र सेनाको एक गुल्म सुरक्षा पोष्ट छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्