Logo

निर्वाचन आयोगद्वारा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र पुरानै अवस्थामा दर्ताको निर्णय



काठमाडौं, २५ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसला बमोजिम नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबीच एकीकरण भई बनेको नेकपा दल दर्ताको प्रकाशन भएको सूचना राजपत्रबाट खारेज गर्ने निर्णय गरेको हो ।

आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्रलाई अलग राजनीतिक दल रहेको व्यहोरा जानकारी समेत गराउने निर्णय गरेको छ । निर्णय बमोजिम नेकपा एमाले र माओवादी केन्द्र आयोगमा पुरानै दर्ताको अवस्था कायम हुनेछ ।

सर्वोच्चको फैसलामा टेकेर आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई बनेको नेकपा एकीकरण गर्ने भएमा नयाँ नाम र चिन्ह समेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थिति हुन जानकारी गराउने निर्णय गरेको छ ।

यसैगरी, गोपाल किराँतीलाई माओवादी केन्द्र र सन्ध्या तिवारीलाई नेकपा एमाले नाम र चिन्ह १५ दिनभित्र सुधारसहित आयोग समक्ष पेश गर्न पत्र पठाउने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस्