सुदूरपश्चिम प्रदेश कार्यालय तोडफोड गरेकोमा भीम रावल आक्रोशित, कारबाही नगरे प्रतिकारमा उत्रिने चेतावनी (भिडिओसहित)

‘स्वघोषित अध्यक्ष कर्ण थापाको निर्देशनमा घट्ना घटेको हो’


‘स्वघोषित अध्यक्ष कर्ण थापाको निर्देशनमा घट्ना घटेको हो’

काठमाडौं, २६ फागुन । सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका संयोजक डा. भीमबहादुर रावलले आज प्रदेश कार्यालयमा गरिएको तोडफोडलाई गुण्डागर्दी र अराजकताको संज्ञा दिँदै घट्नामा संलग्नहरुलाई अविलम्ब कारबाही गरिनुपर्ने माग गरेका छन् । घट्नामा संलग्नहरुलाई कारबाही नगरिए उक्त घट्ना सरकार संरक्षित थियो भन्ने पुष्टि हुने पनि उनको भनाई छ ।

घट्नाको निन्दा गर्दै आज (बुधबार) अपरान्ह रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले यस्तो बताएका हुन् । घट्नाको बारेमा आफूले गृह प्रशासन र पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराईसकेको रावलले जनाए । उनले कर्ण थापाले आफूलाई स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको भन्दै कडा आपत्ति जनाए । उनले भने,‘बाजुराका कर्ण थापाको निर्देशनअनुसार केही कार्यकर्ताहरु गुण्डागर्दी शैलीमा प्रस्तुत भए । बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरे । म यो घट्नाको निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने हो ।’

रावलले सर्वोच्च अदालतको फैसलाबमोजिम नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग÷अलग हुने अवस्था आएको र आफूहरु अदालतको फैसला कार्यान्वयनतर्फ लागेको सुनाए । उनले भने,‘नेकपाको विवादसम्बन्धी सर्वोच्च अदालतले रिट निवेदकले माग दाबी गरेको भन्दा बढिनै फैसला दियो । तर, अदालतको फैसलालाई हामीले पालना गरेका छौं । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएका छन् । अहिले कम्युनिष्ट पार्टी आन्दोलनलाई क्षतविक्षप्त पार्ने षड्यन्त्र भैरहेको छ । विगतमा जे÷जस्तो भएपनि यो आन्दोलनलाई सम्हाल्नुपर्छ । जोगाउनुपर्छ भनिएको छ । हामीले एमाले र माओवादी केन्द्रपनि अलग अलग हुँदा आ–आफ्नो पार्टीमा जाँदा, संयमित भएर जाने र काम गर्ने भनिएको छ । कार्यगत एकता गर्ने भनिएको छ ।’

रावलले एमाले केन्द्रीय कमिटी बैठक छिट्टै बस्ने पनि सुनाए । उनले भने,‘त्यो बैठकबाट बैठकबाट निर्देशन आउला ।विभिन्न कमिटी छन् । ती सबै विधिबाट जान्छन् । अब नयाँ किसिमले जान्छौं । एमाले महासचिव र उपमहासचिवसँग हिजै कुरा गरेको पनि थिएँ । तर, आज सुदूरपश्चिम प्रदेश कार्यालय, सरकारी पक्ष भनौं वा हामी बाहेकको अर्को गुटको पक्ष भनौं कि । आज विहान साँढे ११ बजे, अकस्मात, कैलाली र कञ्चनपुरका विभिन्न गाउँबाट आफ्ना पक्षका मान्छेहरुलाई बोलाएर, जबरजस्ती कार्यालयमा पसेर तोडफोड गर्ने काम भयो । हाम्रो भानुभक्त जोशीजीको कार्यालयमा ताला लगाईएको थियो । पाँच वटा कुर्सी भाँचेका छन् । म संयोजक थिएँ । मलाई नेतृत्व गर्ने अधिकार दिएको थियो । स्वतः म संयोजक हुँ । म संयोजक हुँ । एमालेले सुदुरुपश्चिम प्रदेशमा मेरो नेतृत्वमा अभूतपूर्व सफलता हाँसिल गर्यो ।’

उनले कर्ण थापाले स्वघोषित अध्यक्ष घोषणा गरेर गलत काम गरेको टिप्पणी गरे । उनले भने,‘तर, आज त्यहाँ गुण्डागर्दी शैलीमा प्रस्तुत भए । यसो नगर्नुहोस भनिएको थियो । अदालतको फैसलाअनुसार मैले नै नेकपा एमालेको साईनबोर्ड राख्न निर्देशन दिएको थिएँ । सोहीअनुसार राखिएको थियो । तर, आज बाजुराको व्यक्ति, अर्कोले पनि हाम्रा साथीहरुलाई आक्रमण गरियो । म निन्दा गर्छु । यो गतिविधिले नेकपा एमालेलाई पनि फुटाउने कतै षड्यन्त्र गरिएको होईन् । यो अत्यन्तै षड्यन्त्रमूलक, गुण्डागर्दी शैली हो । म भत्सर्ना गर्छु । कानूनी कारबाही गर्नुपर्छ । कारबाही गरिएन भने सरकार संरक्षित गुण्डागर्दी हो भनेर बुझ्नु्पर्छ । म सशक्त आवाज उठाउन एमाले पक्तिलाई आग्रह गर्छु।’ उनले यसरी नै गुण्डागर्दी, अराजकता लैजानै, मनपरीतन्त्र गर्ने हो भने आफूहरुलेपनि सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

उनले सबैले हिजोको नकारात्मक कुराबाट शिक्षा लिनुपर्ने पनि जनाए । उनले भने,‘हिजो मैले ऋषि धमलाजीको अन्तर्वार्तामै भनेको छु । एमालेलाई बलियो बनाउने कुरा गरेको थिएँ । सुदुरपश्चिम प्रदेशको म नै संयोजक थिए । गुण्डागर्दी कर्ण थापाबाट भएको हो ।’ अदालतको फैसला आएपछि एमाले र माओवादी केन्द्र अलग अलग भएको अवस्थामा लेखराज भट्ट ईन्चार्ज बनाएर मेरो बोर्ड हटाउने हो त ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘गुण्डागर्दी गरेर धम्कीले कसैको साईनबोर्ड तोडेर आफ्नो मान हुन्छ त ? गृह प्रशासनलाई खबर गरेको छु । हाम्रो सुरक्षा हामी आँफै गर्छौं भनेको छु । हाम्रो पार्टीका महासचिवलाई पनि जानकारी गराएको छु । कम्युनिष्ट आन्दोलनलाई जोगाउने उद्देश्य छ भने यस्तो काम बन्द गर्नुपर्छ । एमालेलाई पनि चकनाचुर गर्छौं भन्ने हो, बेग्लै कुरा हो । यस्ता काम बन्द गर्नुपर्छ । यसमा प्रधानमन्त्रीको पनि ध्यान जानुपर्छ ।’

उनले आफू नेकपा एमालेको नवौं महाधिवेशनबाट सबैभन्दा बढि मत ल्याएर उपाध्यक्ष जितेको व्यक्ति भएको सुनाए । सुदूरपश्चिम प्रदेशमा मात्रै नभएर पूर्वको जिल्लाहरुको बारेमा पनि त्यस्तै अराजक गतिविधि भैरहेको सुनेको उल्लेख गरे । उनले भने,‘मसँग अहिले यकिन जानकारी छैन् । तर, बाग्मती प्रदेशको एक जिल्लामा र प्रदेश एकको दुई जिल्लामा पनि त्यस्तै भएको छ ।’ उनले एमालेका हजारौं कार्यकर्ताहरु एकताको पक्षमा रहेको सुनाए । उनीहरु कम्युनिष्ट आन्दोलन जोगाउने पक्षमा रहेको रावलको भनाई छ । उनले भने,‘तर, पार्टीमा यस्तो गुण्डागर्दी शैली अपनाउने, उच्श्रृंखल शैली गर्नेको म घोर भत्र्सना गर्छु । म आम नेता तथा कार्यकर्तालाई त्यस्ता व्यक्ति चिन्न, सचेत हुन आग्रह गर्छु । आवश्यक परे आवाज उठाउन आग्रह गर्छु ।’

रावलले घट्ना भएलगत्तै आफूले एमाले महासचिवलाई फोन गरेर घट्नाबारे जानकारी गराएको सुनाए । उनले भने,‘म पार्टी कमिटीमा कुरा राख्छु । म नीति, पद्धती, विधिमा विश्वास गर्छु ।’ उनले विगतमा पनि पार्टी फुटाउन यस्ता तत्व लागेका हुन् कि भन्ने आशंक पुष्टि भएको सुनाए । उनले भने,‘उनीहरुले आफ्नो चरित्र देखाए । नेकपा एमालेले अब ती तत्व चिन्नुपर्छ । कैलालीको धनगढीमा नेकपा (एमाले)का दुई पक्षबीच विवाद हुँदा कुटाकुट भएको छ। प्रदेश पार्टी कार्यालयमा इन्चार्जको नामका विषयमा विवाद हुँदा बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच कुटाकुट भएको हो।