तीन लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा


काठमाडौं, फागुन २७ । शिवरात्रीमा सधैं झकिकाउ हुने पशुपतिनाथ क्षेत्रमा यसपटक सामान्य तयारी गरिएको छ। गत वर्ष फूलमालाले मन्दिर क्षेत्र सजाइए पनि यसपालि कमै फूल प्रयोग भएको छ।

वरिपरि गेट बनाउने तथा सजाउने काम पनि भएको छैन। भारतबाट आउने भक्तजन तथा साधुसन्तको संख्या कम हुने भएकाले सोही अनुसार तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोरोना संक्रमणको जोखिमका कारण भक्तजन कम आउने भएकाले तयारी पनि त्यसै अनुसार गरिएको कोषका सदस्यसचिव प्रदीप ढकालले बताए। उनका अनुसार शिवरात्री लक्षित सुरक्षासम्बन्धी तयारी पूरा भएको छ।

यसपटक ३ लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने लक्ष्य राखिएको छ। दर्शनका लागि सयभन्दा बढी साधुसन्त आएका छन्। केही साधु बिहीबार बिहानसम्म आउने कोषले जनाएको छ। नागरिक दैनिकबाट