Logo

एमाले र माओवादी केन्द्रका कार्यालय सञ्चालन



दमौली, २७ फागुन: विसं २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि तनहुँमा साविक नेकपा एमालेको कार्यालयलाई मुख्य कार्यालय बनाइयो । व्यास नगरपालिका–३ स्थित पराशर टोलमा रहेको नेकपा एमालेको कार्यालयको बोर्ड परिवर्तन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामबाट कार्यालय सञ्चालन भयो ।

कार्यालय सञ्चालनका लागि एमालेको तर्फबाट राजेश्वर ढकाल र माओवादी केन्द्रको तर्फबाट बसन दरै कार्यालय सचिव तोकिनुभयो । संसद विघटन गर्ने सरकारको निर्णयसँगै दुई खेमामा विभाजित नेकपा नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा कार्यक्रम गर्ने क्रममा विवाद समेत हुँदै आयो । तर सर्वोच्च अदालतको फैसलासँगै जिल्लामा एमाले र माओवादी केन्द्रका छुट्टाछुट्टै कार्यालय सञ्चालनमा आएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मुख्य कार्यालयलाई नेकपा एमालेको कार्यालयमा परिवर्तन गरिएको छ । उक्त भवन यस अघिपनि एमालेकै थियो । कार्यालयको बोर्ड परिवर्तनसँगै एमालेले आफ्ना बैठक तथा भेला शुरु गरिसकेको कार्यालय सचिव राजेश्वर ढकालले जानकारी दिए । भेलामा एमाले नेता टुकराज सिग्देलले पार्टीलाई सङ्टमा परेको बेलामा कुन नेता र कार्यकर्ताको भूमिका के थियो भनेर मूल्याङ्कन हुने बताए । एमालेका जिल्ला कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पार्टी पुर्नगठनको प्रकृया शुरु गरिने जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले पनि बुधबार व्यास नगरपालिका–४ स्थित हरिओम टोलमा रहेको भवनबाट कार्यालय सञ्चालन गरेको छ । कार्यालयको सरसफाई गर्दै माओवादी नेता तथा कार्यकर्ताले नेकपा माओवादीको केन्द्रको बोर्ड टाँसेको नेकपा माओवादी केन्द्रका नेता सुदिन पौडेलले जानकारी दिए ।-रासस



प्रतिक्रिया दिनुहोस्